काठमाडौं । दुधको भुक्तानी तत्काल दिन माग गर्दै बिरोधमा उत्रिएका किसानहरु पक्राउ परेका छन् ।
बुधवार उनीहरुले दुग्ध विकास संस्थान केन्द्रिय कार्यालय घेराउ गरेका थिए । उनीहरुले दुग्ध उत्पादक कृषकहरुले दुग्ध विकास संस्थान लगायत निजी डेरीहरुबाट लामो समयदेखि दुधको भुक्तानी पाउन बाँकी रहेको भन्दै भुक्तानी दिन माग गरेका हुन् ।
बिरोध प्रदर्शनका क्रममा ३४ जना किसानहरुलाई प्रहरीले पक्राउ गरेको छ । भुक्तानी लगायत विभिन्न माग सहित पटक पटक गरेको सम्झौता/सहमति समेत कार्यान्वन नभएको उनीहरुको आरोप छ ।
दुग्ध किसानको ६ अर्ब रुपैयाँ भुक्तानी व्यवस्था मिलाउन राष्ट्रिय कृषक समूह महासंघले सरकारसमक्ष माग गरेको छ। दुधको भुक्तानी नपाउँदा झण्डै ३० लाख किसान परिवार आश्रित रहेको दुग्ध उत्पादन व्यवसाय निरुत्साहित हुने महासंघले जनाएको छ।
किसानहरूले प्राप्त गर्नुपर्ने बक्यौता रकममध्ये करिब आधा रकम सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)को रहेको र आधा निजी क्षेत्रका डेरीहरुको भएको महासंघको भनाइ छ।