काठमाडौं पुस, १६–
बंगलादेशमा प्रतिबन्धित तर नेपालमा खुुलेआम बिक्री बितरण हुुने गरेको प्रानको लिची जुुस खाने बालबालिकाहरुमा टन्सिल र निमोनियाको खतरा हुुने गरेको देखिएको छ । बंगलादेशमा उत्पादित प्रानको मुख्य बजार नेपाल भएको र प्रानले नेपालमा पठाउने पेय पदार्थमा मानव स्वास्थ्यको लागि निकै हानिकारिक तत्वहरुसमेत पाइनुले यो जुस जनस्वास्थ्यका लागि चुनौतीको विषय बनेको छ ।
बंगलादेशी ब्राण्ड प्रानले आफ्नै देशमा संचारजगत र नागरिक समाजको चर्को आलोचना र बहिष्कार व्यहोर्नु परेपछि उसका उत्पादनमा केही सुधार ल्याएको थियो । तर त्यसको केहीसमय पश्चात पुुनः प्रानले लिच्ची जुुसको नाउँमा अखाद्य बस्तुु पठाउने गरेपछि प्रानको लिची जुुसलाई बंगलादेशमा प्रतिबन्ध नै लगाईएको थियो । सो पश्चात उक्त कम्पनीले त्यस्तो अखाद्य जुसको मुख्यबजार नेपाललाई बनाएको छ ।
सन् २०१२ मै बंगलादेशमा प्रानका जुसहरुमा फलफूलको रस नभएको पाइएपछि यो उत्पादनलाई प्रतिबन्ध लगाउनु पर्ने आवाज उठेको थियो । बंगलादेशका तत्कालीन मानवअधिकार तथा शान्ति आयोगका सभापति मन्जिल मुर्शिदले प्रानका लिची जुस प्रतिबन्ध लगाउनु पर्ने माग गरेर उच्च अदालतमा रिट दायर गरेका थिए ।
बंगलादेशको गुणस्तर सम्बन्धी काम गर्ने निकाय बिएसटीआइले प्रानका जुसहरुको अनुमति पत्र खारेज गरिदिएको थियो । बंगलादेशमा फलफूलका जुस भनेर चिनी मिसाइएको झोल बेच्ने गरेको थियो । त्यसबेलादेखि अहिलेसम्म बंगलादेशमा यो मान्यता नै बसिसकेको छ कि ‘प्रानका जुसमा फलफूलको एक थोपा पनि रस हुँदैन ।’
जुसको नाममा उत्पादन भइरहेको प्रानको झोल नेपालमा न्युन बिजकिकरण गरी आयात हुने गरेको छ । पैसा र नाफामा मात्रै ध्यान दिने भएका कारण प्रानका उत्पादनहरु जनस्वास्थ्यका दृष्टिले खतरनाक रहेको स्रोतको दावी छ । बालबालिकामा लोकप्रिय प्रानको लिच्ची जुस त खानै नहुने केही समयअघि गरिएको परीक्षणको क्रममा पुष्टि भइसकेको छ । यसले बालबालिकाहरुमा टन्सिल हुने, इन्फेक्सन भई खोकी लाग्ने, ज्वरो आउने तथा निमोनिया भएर ज्यानै जानेसम्मको खतरा रहेको भन्दै विज्ञहरुले प्रानको लिच्ची जुस आफ्ना बालबालिकाहरुलाई खान नदिन सचेत गराएका छन् ।
बंगलादेशको बजारमा उसले पठाउने लिच्ची जूसमा नन्फ्रुट ड्रिङ्स भन्ने कुरा लेवलमै प्रष्ट लेखेको छ । तर, नेपाल पठाउने त्यही जुसमा हानिकारक पदार्थ मिसाएर १० प्रतिशत पल्प रहेको दाबीसहित बिक्री गर्ने गरिएको छ । जाँचको क्रममा प्रानको लिच्ची जुसमा पल्प पनि नरहेको र खान लायक नै नरहेको भेटिएको हो । फेरि आफ्ना देशका नागरिकलाई नन् फ्रूट ड्रिङ्स भनी स्पष्ट जानकारी दिएर बजारमा जूस पठाउने गरेको प्रानले नेपालमा भने गलतरुपमा जुुस पठाउने गरेको स्रोतको दावी छ ।
प्रानले नेपालमा लिच्ची जुस भनेर पठाउने गरेको पेय पदार्थ खानै नहुने भएपछि र त्यसमा पल्पको मात्रा नदेखिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रष्टीकरण सोधेको थियो । पल्प नहालिएको पेय पदार्थलाई लिच्ची जूस भन्न नसकिने सरकारी प्राविधिकहरुले भनेपछि प्रानले त्यसपछिदेखि नै नेपालमा पठाइने लिच्ची जुसको बोतलमा १० प्रतिशत पल्पको मात्रा रहेको लेख्न थालेको हो । तर, बोतलमा यो कुरा लेखिए पनि जूसमा भने उसले कुनै परिवर्तन गरेन् । बरु, पानी चिनी मिसाएर हानिकारक र सस्तो लेभल हालेर लिच्ची जूस भन्दै पठाउने काम गरिरह्यो । नेपालीहरुले समेत त्यसैलाई मीठो मान्दै खाए र बच्चालाई समेत खुवाए । आजको अमृतबजार साप्ताहिकमा खबर छ ।