काठमाडौं । सुनसरीको धरानमा एउटा जग्गासम्बन्धी लेनदेनको विषयमा प्रहरीले गैर कानुनी हिरासतमा राखेका रामप्रसाद राईमाथि पूर्वप्रेमिका र परिवार लगाएर यौनहिंसाको षडयन्त्र रचेका छन् ।
जिल्ला अदालत सुनसरीले गरेको आदेशविपरित इलाका प्रहरी कार्यालय धरानका नायव उपरिक्षक (डीएसपी) मानबहादुर राईले एक सर्वसाधारणलाई २४ घन्टासम्म मानसिक यातना र दबाब दिएर कागज गराएको खुलेपछि यौनहिंसाको अभियोग लगाउन लागिएको हो।
यसमा पीडित भनिएकी युवती र तिनका परिवारलाई पनि मुछिएको छ । यस्तो मुछ्ने कार्यमा प्रभाब र दबाब दिइएको भेटिन्छ ।
अदालतको पक्राउ पुर्जी समेत जारी नगरी हाजिरी जमानीमा रहेका रामप्रसाद राईलाई १६ जेठमा पक्राउ गरी २४ घन्टासम्म मानसिक यातना दिँदै १७ जेठमा छाडेको विषय खुलासा भएको थियो ।
प्रहरीको बर्दीको बलमा दोहोरो नागरिकता रहेका नेपाली कांग्रेसका महासमिति सदस्य सुवास राईको पक्षमा लागेर डीएसपी मानबहादुर राईले रामप्रसादप्रति अन्याय गरेका विवरण सतहमा आएका थिए ।
सुवास राई जग्गा कारोबारी पनि हुन् । उनैको पक्षमा लागेर रामप्रसादमाथि डीएसपी मानबहादुर राईले कानुनको पनि धज्जी उडाएका हुन ्। जग्गाको जुन विषयमा उनले कागज गराएका छन् त्यो जिल्ला अदालतमा विचाराधिन मुद्दा हो । अदालत पुगिसकेको विषयमा प्रहरीले सोध्न समेत नपाउने कानुनी व्यवस्था छन् । तर, डीएसपी मानबहादुर राईले भने प्रहरी हुनुको गलत फाइदा उठाएर मानसिक यातना दिएको पीडितको गुनासो रहेको छ।
अदालतको नै मानाहानी गरेको विषयमा जिल्ला अदालतमा प्रहरीविरुद्ध मुद्दा हाल्ने समेत तयारी भएको छ ।
गत वैशाख ३१ गते साधारण तारिखमा रामप्रसादलाई अदालतले छाडेको थियो। उनको अर्को तारेख जेठ २९ गतेका लागि अदालतले तोकेको थियो।
तर डीएसपी मानबहादुर राईले भने अदालतको नै मानाहानी गरी १६ गते नै बिना पुर्जी पक्राउ गरी १७ गतेसम्म राखेर बाहिर कागज गराई १८ नम्बर वडा कार्यालयमा लगेका थिए। यसपछाडिको स्वार्थ रामप्रसाद राईबाट जग्गा हडपेर भागशान्ती गर्ने गराउने नियत राखिएको आशंका गरिएको छ ।
धरान–१५ कि हर्कमाया लिम्बुको हाल सुन्दर हरैंचा नगरपालिका तत्कालिन दुलारी गाविसमा रहेको ८ कट्ठा २ धुर जग्गा बैंकमा राखी ८५ लाख रुपैंया ऋण लिने लेनदेनको विषयमा अनाहकमा रामप्रसाद राईमाथि दबाब दिइएको थियो । यो मुद्दामा लेनदेनको कागज २०८० साल फागुन २० गते गरिएको थियो। यो लेनदेनको विषय अदालतमा विचाराधिन अवस्थामा छ। लेनदेनमा गडबडी भए वा विवाद आए प्रहरीले समन्वय गरी अदालतसम्म लगिदिने काम हो तर आफ्नो जिम्मेबारी र कर्तव्य भुलेर डीएसपी मानबहादुर राईले अनावश्यक हस्तक्षेप गरेको स्पष्ट हुन्छ।
डीएसपी राई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईको पहुँचका आधारमा प्रहरीभित्र चिनिन्छन्। उनले सोही शक्ति देखाउँदै सर्वसाधारणमाथि कानुनभन्दा माथि रहेको प्रतीत हुनेगरी काम गरिरहेका छन् ।
यस विषयमा पीडित रामप्रसाद राईले आफूमाथि जग्गाका विषयमा समेत धोकाधडी भएको र अनावश्यक रुपमा इलाका प्रहरी कार्यालय धरानमा झुठा निवेदन दिएकोसहितको मुद्दा अदालतमा पेस गरेका थिए। सोबारे अदालतले पनि कानुनअनुसार गर्नु र विपक्षीले निवेदकलाई अनावश्यक धाकधम्की नदिनू भनी २०८० फागुन २० मा आदेश दिएको थियो ।
यो बिषयमा डीएसपी मानबहादुर राईले शक्तिको दुरुपयोग मात्र गरेका छैनन् । उपल्ला निकायमा पनि गलत रिपोर्टिङ गरेको फसाईएका भनिएकाको दाबी थियो । यस विषयमा तीनघुम्तीले कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख नायव महानिरिक्षक (डीआईजी) चन्द्रकुबेर खापुङ भन्छन्,‘यौन हिंसाको विषय आएपछि सोधपुछका लागि बोलाएको रहेछ । उमाथि उजुरी दर्ता भए कारबाही गरिन्छ ।’
तर जिल्ला अदालत सुनसरीले रामप्रसाद राईलाई फेरि पनि इलाका प्रहरी कार्यालय धरानले मानहानी गरेको भन्ने विषय खुलाएको छ । अदालत यसमा गहिरोगरी आदेशात्मक छ ।