काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेका सबै आरोपहरुमा दोषी ठहर भएका छन्। उनलाई ३४ वटा जघन्य अपराधका मुद्दाहरू लागेको थियो।
ट्रम्पले सन् २०१६ को राष्ट्रपति निर्वाचनताका पूर्व पोर्नस्टार स्टोर्मी ड्यानियललाई आफूहरूबिच भएको यौन सम्बन्ध गुपचुप राख्न १ लाख ३० हजार डलर पैसा दिएको आरोप लागेको थियो ।
ट्रम्प दोषी घोषित हुने पहिलो अमेरिकी राष्ट्रपति बनेका छन् । यद्यपी ट्रम्पले आफूविरुद्ध दर्ता भएको मुद्दालाई अपमानजनक र धोखाधडी भएको बताएका छन् ।
उनले भनेका छन्, ‘यतिबेला देशैभर धाँधली भइरहेको छ । बाइडेन प्रशासनले राजनीतिक प्रतिद्वन्द्वीलाई चोट पुर्याउन यो सबै गरेको हो । मामिला टुंग्याउन धेरै समय छ । हामी हाम्रो संविधानको लागि लड्नेछौं । हाम्रो देश पहिलेको जस्तो रहेन, हामी विभाजित अवस्थामा छौं।’
अर्कोतर्फ, ट्रम्पलाई दोषी ठहर गरेपछि बाइडेनका चुनावी अभियानका प्रवक्ताले कानुनभन्दा माथि कोही नभएको बताएका छन् ।
अब आगामी जुलाई ११ मा ट्रम्पका यी अपराधका लागि सजायको सुनुवाई हुने भएको छ ।