बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेकपामा अर्का नेता भिम रावलको पनि फरक दस्तावेज दर्ज !

मंगलबार, पुष ३ २०७५

काठमाडौं पुस, ३–
सत्तारुढ नेपाल कम्युनिष्ट पाटीमा फरक दस्तावेज प्रस्तुत गर्ने अर्का नेता पनि थपिएका छन् । मंगलबार  स्थायी समिति सदस्य भीम रावलले पनि फरक दस्तावेज प्रस्तुत गरेका हुन् ।  पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी समिति बैठकमा रावलले १४ पृष्ठ लामो फरक दस्तावेज पेस गरेका हुन् ।

नेता रावलले अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथि आफ्नो लिखित सुझाव पेस गर्दै मनोमानी तरिकाले सचिवालय गठन गरिएको भन्दै असन्तुष्टि समेत जनाएका छन् । उनले पार्टी संगठन निर्माण र नौ महिना अघि गठन भएको सरकारका समीक्षासहितका विषयलाई दस्तावेजमा समेटेका छन् ।

‘पार्टी एकीकरणको पूर्वसन्ध्यामा नेकपा ९एमाले०को स्थायी कमिटी बैठकमा सचिवालय गठन गर्ने र महासचिव नियुक्ति गर्ने कुरा भएको थिएन । दुई जना अध्यक्ष रहने निर्णय भएको थियो । उक्त निर्णयमा तत्कालीन नेकपा ९माओवादी केन्द्र०सँग पनि सहमति भएको जानकारी गराइएको थियो । तर, पछि मनोमानि किसिमले सचिवालय गठन गरियो’, रावलले पेस गरेको दस्तावेजको पहिलो बुँदामा भनिएको छ ।

रावलको दस्तावेजमा विवादास्पद संस्था युनिभर्सल पिस फेडेरेसन (युपिएफ)को एशिया प्रशान्त क्षेत्रीय सम्मेलनमा पार्टीका नेता तथा सरकारका सहभागितालाई लिएर पनि आलोचना गरिएको छ । युपिएफको कार्यक्रममा नेता तथा सरकारको सहभागिता के कति कारणले राजनीतिक र कुटनीतिक रुपमा गल्ती हो भन्ने कुरालाई उल्लेख गरिएको छ ।

यसअघि सचिवालय सदस्य वामदेव गौतमले पनि बैठकमा फरक दस्तावेज प्रस्तुत गरेका थिए । दस्तावेजमा गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीका चर्को आलोचना गरेका छन् । उनले एक व्यक्ति एक पदअनुसार पार्टी अघि बढाउनु पर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओली बनेपछि अध्यक्षको भूमिका एकल रुपमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिनुपर्ने माग गरेका छन् ।

शनिबारबाट शुरु भएको स्थायी समितिको बैठकमा अध्यक्षद्वयले पेस गरेका प्रतिवेदनमा फरक मत राख्दै गौतम र रावलले वैकल्पिक प्रतिवेदन पेस गरेका हुन । दुवै प्रतिवेदनमा पार्टीलाई विधिपूर्वक सञ्चालन गर्न र सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउन माग गरिएको छ ।

रावलले बैठक समेत कार्यसूची बिना आएको भन्दै आलोचना गरेका छन् । केन्द्रीय कमिटीले पारित नगरेको विधान कसरी पारित गरियो भन्दै नेता रावलले प्रश्न उठाएका छन् । नेता रावलले अध्यक्षद्वयको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि ३५ बुँदे सुझाव पेस गरेका हुन् ।

बैठक भोलि बिहानसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण स्थगित बैठक भोलि बिहान ८ बजे पुनः पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ । सदस्यहरुले बोल्ने क्रम सकिएपछि अध्यक्षले जवाफ दिने कार्यक्रम रहेको छ ।