काठमाडौं पुस ३–
मंगलबार बिहान नेपाली कांग्रेसको महासमिति बैठकमा हंगामा मच्चिएको छ । जिल्ला सभापतिहरुले विधानको मस्यौदा प्रस्तुत नगरेसम्म बैठक सुरु गर्न नदिने अडान राखेपछि स्थिति तनावपूर्ण बनेको हो ।
पार्टी सभापति शेरबहादुर देउवाले जिल्ला सभापतिहरुले राखेको अडानलाई वेवास्ता गर्दै बैठक सुरु भएको घोषणा गरेपछि जिल्ला सभापतिहरु मञ्चमा नै उक्लिएर होहल्ला गरेका थिए। जिल्ला सभापतिहरुले होहल्ला गर्न थालेपछि देउवाले हतारहतार बैठक स्थगित गर्न पुगेका थिए ।
बैठक स्थगित भएको घोषणा गरेपछि मञ्चमा चढेका जिल्ला सभापतिहरुले आ–आफ्नो कुरा सुनाइरहँदा नुवाकोटका जिल्ला सभापति जगदिशनरसिंह केसीको माइक प्रकाशसरण महतले खोस्न पुगेका थिए । महतले माइक खोसे लगत्तै त्यहाँ हात हालाहालको स्थिति उत्पन्न भएको थियो।
महासमिति बैठकमा घम्साघम्सी परेपछि सभापति देउवासहितका नेताहरु कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा भेला भएर विधान मस्यौदा माथि छलफल गर्न पुगेका थिए ।