काठमाडौं । राइड सेयरिङ एप इन्ड्राइभले नेपालमा आधिकारिक रुपमा सेजा दिन थालेको जनाएको छ । यसअघि पनि इन्ड्राइभले नेपालमा सेवा दिँदै आएको भएपनि सोमबारबाट भने नेपालमा औपचारिक रूपमा आफ्नो सेवा सञ्चालन सुरु गरेको हो ।
नेपालमा इन्ड्राइभले चालक र यात्रु दुवैका लागि निष्पक्ष र किफायती यात्रा सुनिश्चित गर्न चालकका लागि १० प्रतिशत भित्र रहनेगरी कमिशन शुल्क लागू गरेको छ।इन्ड्राइभले यात्रु र चालकहरूलाई सवारी यात्राको भाडामा स्वतन्त्र रूपमा वार्ता गर्न अनुमति दिएर एक अद्वितीय सेवा प्रदान गर्ने जनाएको छ । यसले मानिसहरूलाई सवारीको भाडा निर्धारण गर्ने र ड्राइभरसँग सिधै एप भित्रै सम्झौता गर्ने स्वतन्त्रता दिन्छ। इन्ड्राइभ एप मार्फत मानिसहरूले या त आफ्नो सवारीको लागि भाडा प्रस्ताव गर्न सक्छन् वा आफ्नो सवारी साधनको मोडेल, ड्राइभरको मूल्याङ्कन र आगमन समयको आधारमा धेरै चालकहरु मध्येबाट एउटा चालकको अफर रोज्न सक्छन्। यो अनौठो प्रणालीले चालकहरूलाई आफूलाई उपयुक्त हुने सवारी अनुरोधहरू छनोट गर्न, आफ्नै मूल्यहरू अफर गर्न र कुन यात्राहरू स्वीकार गर्ने भन्ने निर्णय गर्ने अधिकार दिनेछ।
इन्ड्राइभमा एपीएसी कम्युनिकेसन्स लीड, पभित नन्दा आनन्दले सेवा शुभारम्भको अवसरमा इन्ड्राइभ अब आधिकारिक रूपमा नेपालमा प्रवेश गरेको बताईन् । नेपालको बजार कम्पनीका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको र कम्पनीको सेवाहरूले नेपाली बजारमा नवीनता र रोजगारी सिर्जना गर्ने उनको भनाई थियो । यस्तै इन्ड्राइभ नेपालकी निर्देशक सुश्री रीता पोखरेलले नेपालमा इन्ड्राइभको आधिकारिक रूपमा सुरुवातले नेपालको राइड–हेलिङ उद्योगमा नयाँ अध्यायको सुरुवात भएको बताईन् । यस्तै उनले आईएमई पेसँग भुक्तानी साझेदारी पनि गरेको जानकारी दिईन् ।
काठमाडौंमा इन्ड्राइभका सेवाहरूक्याब सवारी, मोटो सवारी, डेलिभरी, एक शहर देखि अर्को शहरसम्म सवारी (आउटस्टेशन सवारी) हुनेछन् । यात्रा सुरक्षाको लागी कम्पनीले यात्रु र चालकहरूले तिनीहरूको मूल्याङ्कन र तिनीहरूले पहिले गरेका यात्राहरूको संख्याको आधारमा आफूले कसलाई यात्रा गर्न चाहन्छन् भनेर छनौट गर्न सक्छन्। यस्तै यात्राको अवधिमा एपमा लाइभ राइड विवरण साझेदारी र सेभ आवर सोल्स बटन रहेको कम्पनीले जनाएको छ ।