२५ मंसिर, काठमाडौं– उपत्यकाभित्र करिब ३ सय जेब्राक्रस छन्, तर ट्राफिक बत्ती भने तीनवटामा मात्रै सञ्चालित छन् । नयाँ बानेश्वर, महाराजगन्ज चोक र भक्तपुरको कौशलटार चोकको जेब्राक्रसमा मात्रै ट्राफिक बत्तीले काम गर्छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
महानगरीय ट्राफिक महाशाखाका अनुसार थापाथलीको जेब्राक्रस उपत्यकामा सबैभन्दा व्यस्त हुन्छ । बिहान र बेलुकाको ‘पिक आवर’मा मात्रै थापाथली जेब्राक्रसबाट दैनिक १५ हजार चार सयले बाटो काट्ने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाको अध्ययनले देखाएको हो ।
महाशाखाले बिहान ९ देखि ११ र साँझ ३ देखि ६ बजेसम्म २२ वटा जेब्राक्रसबाट बाटो काट्नेको संख्या गणना नै गरेर तथ्यांक निकालेको छ । थापाथलीपछि सिंहदरबार, पुतलीसडक, कुमारी बैंक, पद्मोदय मोड र माइतीघरको जेब्राक्रस बढी व्यस्त रहने गरेको देखिएको छ । यी जेब्राक्रसबाट बिहान र साँझको ५ घन्टामा मात्रै ११ हजारभन्दा बढीले बाटो काट्छन् ।
ट्राफिक महाशाखाको तथ्यांकअनुसार २२ जेब्राक्रसबाट ५ घन्टामा ७७ हजार सर्वसाधारणले सडक वारपार गर्छन् ।
महाशाखा प्रमुख एसएसपी वसन्त पन्तले उपत्यकाको ट्राफिक जाम हटाउने विकल्प निकाल्न ‘पिक आवर’मा जेब्राक्रस प्रयोग गरेर आवागमन गर्ने सर्वसाधारणको संख्या गनिएको बताए । ‘उपत्यकाका केही स्थानमा मात्रै ओभरहेड ब्रिज छन् । तर, व्यस्त मानिने चोकमा यो सुविधा छैन । हामीले ती ठाउँहरूमा यात्रुको चाप बुझ्न गणना ग-र्यौँ’, एसएसपी पन्तले भने, ‘हामी ओभरहेड ब्रिज वा अन्डर पास वेको आवश्यकता सरकारलाई तथ्यांककै आधारमा दिन खोजिरहेका छौँ ।’