काठमाडौं मंसिर, १९–
वानेश्वर प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बुधबार मध्ये वानेश्वरको रत्नराज्य स्कुलका बालबालिकाका लागि लैंगिक हिंसाकाबारेमा जनचेतनामूलक कक्षा सम्पन्न गरेको छ । वानेश्वर वृतका प्रमुख डीएसपी गोविन्दराज काफ्लेसहितको सहभागीतामा उक्त कक्षा सम्पन्न भएको हो । सामुदायिक विद्यालका रुपमा रहेको रत्नराज्य स्कुलका कक्षा ७ र ८ का विद्यार्थीलाई जनचेतनामूलक शिक्षा दिईएको हो । कार्यक्रममा करिब ३ सय विद्यार्थीको सहभागीता रहेको थियो । वानेश्वर वृतका डीएसपी काफ्लेले के कति कारणले महिला तथा बालबालिकामाथि हिंसा हुन्छ र यो बाट कसरी सुरक्षित रहन सकिन्छ भन्नेबारे चर्चा गरेका थिए । उनले आफन्तैबाट धेरैजसो बालबालिकामाथि हिंसा हुने गरेकाले अभिवावक तथा बालबालिका आफै पनि कसरी चनाखो रहन सकिन्छ भन्नेबारे विद्यार्थीहरुलाई बताएका थिए । उनले यसका लागि विद्यालयका शिक्षक तथा अभिवावक र समाजका सबै नागरिकको प्रहरीलाई सहयोग आबश्यक रहेको बताए । उनले आउदा दिनमा यस्ता कार्यक्रमलाई प्रहरीले निरन्तरता दिँदै जाने पनि बताए ।
कार्यक्रममा सहभागी विद्यार्थीले कार्यक्रमलाई निकै चाखका साथ अभिरुचिपूर्वक सुनेका थिए । विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा अन्य कर्मचारीले यस्ता कार्यक्रमको निरन्तरताका लागि प्रहरीसमक्ष आग्रह गरेका थिए । त्यस्तै, अमृतबजार साप्ताहिक, तथा तीनघुम्ती अनलाइनका सम्पादक बिनोद प्रसाद चौलागाईंले पनि बालबालिकामाथि आईपर्ने विभिन्न हिंसाका स्वरुपबारे विद्यार्थीहरुलाई अबगत गाराएका थिए । सम्पादक चौलागाईंले बालबालिकालाई घरपरिवार तथा वरपरका कसैले लोभ लालच देखाउदा लालचमा लाग्नुभन्दा अभिवावकलाई जानकारी गराए ठुलो दुर्घटनाबाट जोगिनसक्ने बताए । उनले बालबालिकालाई त्यस्ता लोभलालचमा नपर्न समेत सुझाएका थिए । सामुदायिक विद्यालयबाट अध्ययन गरेर आएका उनले बालबालिकालाई आफूले पढ्दाका घटनाक्रमलाई सुनाउदा बालबालिकाले निकै रुचिपूर्वक सुनेका थिए ।
यसअघि पनि डीएसपी काफ्लेको नेतृत्वमा सामुदायिक विद्यालयमा यस किसिमका कार्यक्रम निरन्तर हुँदै आईरहेका थिए । गृहमन्त्री रामबहादुर थापाको योजना अनुरुप समुदाय–प्रहरी साझेदारी कार्यक्रम ७७ जिल्लामा एकैसाथ कार्यान्वयनमा आएको हो । समुदाय–प्रहरी साझेदारी कार्यक्रम जिल्लास्तरिय, पालिकास्तरिय तथा हरेक सामुदायिक विद्यालयमा संचालनमा आएको छ । विद्यालयस्तरको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत प्रहरीले विद्यालयमै पुगेर विद्यार्थीलाई पढाउने बताईएको छ । यसका लागि शिक्षामन्त्रालयले पाठ्यक्रम समेत निर्माण गरिसकेको छ । सोही कार्यक्रम अन्तरगत आज वानेश्वर प्रहरीले रत्नराज्य स्कुलमा विद्यार्थीका लागि कसरी सुरक्षित बन्न सकिन्छ भन्नेबारे जनचेतनामूलक कार्यक्रम आयोजना गरेको हो । उक्त अवसरमा विद्यालयकी प्रधानाध्यापक डा. गीता खरेल शिवाकोटीले डीएसपी काफ्ले र पत्रकार चौलागाईंलाई मायाको चिनो प्रदान गरेकी थिईन् ।