काठमाडौं मंसिर, १४–कांग्रेसका जिल्ला सभापतिहरूको भेलाले पार्टीमा पदाधिकारीको संख्या बढाउनुपर्ने माग गरेको छ । ३८ बुँदे घोषणापत्र जारी गर्दै बिहीबार सम्पन्न भएको राष्ट्रिय भेलाले पार्टीका तल्ला तहलाई शक्तिशाली बनाउनसमेत माग गरेका छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
उनीहरूले मनोनीत गर्ने अधिकार केन्द्रीय सभापतिदेखि, प्रदेश, जिल्ला, क्षेत्र, गाउँरनगर र टोल कार्यसमितिसम्ममा समान रूपमा व्यवस्था गर्न माग गरेका छन् ।
उनीहरूले माथिल्ला निकायले मनोनीत गर्ने सदस्यमा दुई कार्यकाल पूरा गरेका तल्ला निकायका सभापतिहरूमध्येबाट न्यूनतम २५ प्रतिशतलाई प्रतिनिधित्व गराउने व्यवस्था विधानमा राख्न सुझाव दिएका छन् । पार्टी नेता र कार्यकर्ताको मर्यादाक्रम पार्टी विधानको अनुसूचीमै व्यवस्था गर्न उनीहरूको जोड छ ।
कुनै पनि तहमा चुनाव लडेका पार्टी सदस्यलाई सोही पदमा मनोनीत गर्न नहुने, समानुपातिक प्रणालीबाट एक पटकभन्दा बढी अवसर दिन नहुने, प्रदेशभित्रबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने सदस्यको निर्वाचन मतदाता प्रदेशभित्रकै महाधिवेशन प्रतिनिधिहरूबाट हुनुपर्नेलगायत सुझाव छन् ।