१३ मंसिर, काठमाडौं–केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) र रुपन्देही प्रहरीले गरेको संयुक्त कारवाहीमा मारिएका थिए, गुण्डा नाइके मनोज पुन र सोमबहादुर आले ।
प्रहरीले गरेको इन्काउन्टको बारेमा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान शुरु गरेको थियो । तर, अहिलेसम्म पनि आयोगले कुनै विवरण सार्वजनिक गरेको छैन । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
मनोज पुन प्रहरीको मोस्टवान्टेड सूचीमा थिए । उनले फर्निचर व्यवसायी बसन्त पौडेलको हत्याको जिम्मेवारी लिएका थिए । २०७२ पुसमै युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्याको जिम्मा समेत उनैले लिएका थिए । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्यामा पनि उनको संलग्नता रहेको प्रहरीको दाबी थियो ।
त्यतिखेर पुष्कर कार्की नेतृत्वको सिआईबी र तत्कालीन डिआईजी गणेश केसीको छानविन समितिले भने निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचन हत्याका मुख्य योजनाकार समिरमान बस्नेत रहेको निश्कर्ष निकालेको थियो ।
बस्नेतलाई इन्काउन्टरबाट जोगाएर त्यतिखेर सिआइबीको टोलीले अचानक सार्वजनिक गरेपछि गौचन हत्याको अनुसन्धानका लागि बनेको छानविन समिति नै चकित परेको थियो ।
पुनलाई दाउद इब्राहिमकै शैलीमा प्रचार गराएका कार्कीले पुनले को–कोसँग कति फिरौती असुलेका थिए र कति रकम अबैध रुपमा आर्जन गरेका थिए भन्ने बारेमा केही पनि खुलाउन सकेका थिएनन् ।
तर, उनले करोडौं असुलेको दावी गरेका थिए । पुन भारतको गोवामा पक्राउ परेको एक साता अघि नै उनलाई छुटाउने नाममा हङकङ, दुबइ र मकाउबाट पुनका सहयोगीहरूले दुई करोड रकम हुण्डी गरेर पठाएको हल्ला चलेको थियो ।
उक्त रकम कसले खायो भन्ने बारेमा अहिलेसम्म पनि तथ्य बाहिर खुलेको छैन । तर, पुनबाट रकम असुलेर उनैलाई इन्काउन्टरको नाममा मारियो भने बस्नेतलाई सेटिङमा काठमाडौं ल्याएर एकाएक सर्वाजनिक गरिएको थियो ।
अहिले बस्नेत प्रहरीकै लागि टाउको दुःखाइको विषय बनेका छन् । हाई प्रोफाइल व्यक्तिको हत्याको योजनामा रहेका उनलाई प्रहरी अधिकारीहरूकै संरक्षण रहेको छ ।
कार्कीले समिरमानलाई सार्वजनिक गर्दा भनेका थिए, ‘उसको समूहले इन्टरनेट, फेसबुक भाईबर जस्ता प्रबिधिमार्फत नेपालका व्यापारीहरूलाई धम्क्याएर रकम असुल्थे ।’ तर, धम्क्याएर बस्नेतले कति असुले भन्ने बारेमा केही कुरा बाहिर नआएपनि असुलिएको उक्त रकम भने अहिले मिलेमतोमै क्रसरमा लगानी भएको खुलेको तथ्य बाहिर आएको छ ।