बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एआईजीमार्फत क्रसरमा डनको पैसा लगानी

बिहिबार, मंसिर १३ २०७५

१३ मंसिर, काठमाडौं– अवकाशको मुखमा पुगेका नेपाल प्रहरीका अधिकांश अधिकारीहरुको क्रसर र टिपरमा लगानी रहेको तथ्य खुलेको छ ।

सवारी दुर्घटनामा डिआईजी सुशीलकुमार भण्डारीको मृत्युपछि उनको क्रसर उद्योग र टिपरमा लगानी रहेको कुरा बाहिर आयो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

प्रहरी उच्च स्रोतका अनुसार डिआईजी भण्डारीको मृत्युपछि विभिन्न क्रसर उद्योगमा प्रहरीले अनुसन्धान गर्दै जाँदा एक वहालवाला एआईजीसहित दर्जनौ प्रहरी अधिकारीहरुको लगानी रहेको तथ्य समेत भेटिएको छ ।

प्रायजसोः जिल्लामा प्रहरीको कमाई खाने भाँडो नै बनेको छ, क्रसर र बालुवा खानी । अधिकांश प्रहरी अधिकृतले गुण्डा नाइकेहरुसँग साझेदारी गरेर क्रसर सञ्चालन गरी करोडौं कमाइरहेका छन् । जसका कारण अवैध क्रसर उद्योगहरु निरन्तर चलिरहेका छन् ।

दक्षिणकालीभन्दा तल छैमलेमा एक एआईजीले मधुसुदन डोटेल नामका गुण्डामार्फत क्रसरमा लगानी गरेका छन् । उक्त क्रसर उद्योग केही समयमै सञ्चालनको तयारीमा रहेको छ ।

काठमाडौं–निजगढ फास्ट ट्रय्राकको काम लिने गरी उक्त क्रसर उद्योग सञ्चालनमा ल्याउन लागिएको बुझिएको छ । वर्षौंदेखि ललितपुरका टिकाभैरव, लेलेको नल्लुखोला किनारलगायतका विभिन्न स्थानमा अबैध रुपमा खानी सञ्चालन गर्दै आएका डोटेलले निराकार ढुंगा उद्योग प्रालिको नामबाट काम गर्दै आइरहेका छन् ।

उनै डोटेललाई ति एआईजीलगायतका प्रहरी अधिकारीहरुले लगानी गरेर वर्षौंदेखि कमाउँदै आइरहेको स्रोत बताउँछ । शरद गौचन हत्याका नाइके समिरमानसिंह बस्नेतलाई सेटिङ मिलाएर भारतबाट नेपालमा ल्याउँदा असुलेको करोडौं रकम र मनोज पुनबाट बरामद भएको रकमसमेत डोटेलको क्रसरमा लगानी गरिएको स्रोतले थप उल्लेख ग-यो ।

ललितपुर क्रसर व्यवसायी संघको अध्यक्ष छँदा डोटेल गुण्डा नाइके रमेश बाहुनको पार्टनर थिए । ढुंगा खानीको विषयमा विवाद हुँदा बाहुनले मिनकृष्ण महर्जनमाथि गोली चलाएपछि डोटेल पनि प्रहरी अनुसन्धानमा तानिए । त्यसबेला ६ महिना जेल बसेर बाहिर निस्किएपछि डोटेलले एकाएक प्रहरी अधिकारीहरुसँग मिलेर क्रसरको लगानीलाई बढाए ।

जब रमेश बाहुन जेल परे त्यसपछि डोटेल गुण्डा नाइके बस्नेतसँग नजिकिन पुगे । पछिल्लो समय डोटेलकै मध्यस्थतामा नख्खु कारागारमा रहेका बाहुन र केन्द्रिय कारागारमा रहेका बस्नेतबीच राम्रो सम्बन्ध बनेको छ ।