काठमाडौ मंसिर, १२–
नुवाकोटको ककनीमा आजदेखि नेपाली देशैभरका कांग्रेस सभापतिहरुको भेला सुरु भएको छ । आगामि मंसिरको अन्तिम सातामा हुने पार्टीको महासमिति बैठकलाई लक्षित गरेर भेला आयोजना गरिएको हो । विधान केन्द्रित जिल्ला सभापतिहरुको भेलामा ५८ देखि ६० जिल्ला सभापति सहभागी भएको नुवाकोट जिल्ला सभापति जगदिशनरसिंह केसीले जनाए । उनका अनुसार केही जिल्लाबाट आउने क्रम अझैं जारी रहेको छ ।
भेलामा पार्टीको संशोधित विधानमा केन्द्रित भएर छलफल गर्ने तयारी छ । त्यस्तै सरकारका काम कारबाहीका विषयमा एकढिक्का भएर प्रस्तुत हुन र प्रतिक्रिया दिन केन्द्रीय नेतृत्वलाई भेलामार्फत दबाब पनि दिने केसीले बताए ।
राष्ट्रिय राजनीति र पार्टीभित्रका अन्य विषयमा पनि जिल्ला सभापतिहरुले बुधबार र विहीबार धारणा राख्नेछन् । बिहीबार दिउँसो ककनी घोषणापत्र जारी गरी जिल्ला सभापतिहरुको भेला सकिने केसीले जानकारी दिए ।
नेपाली कांग्रेसको विधान मस्यौदा संशोधन समितिले केन्द्रीय समितिमा फरकमत सहित प्रतिवेदन पेस गरेको छ । उक्त प्रतिवेदनमा पदाधिकारीको संख्यादेखि सदस्यताका विषयसम्म फरक मत छन् ।