काठमाडौं मंसिर, १०–
प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले उनकोबारेमा सार्वजनिक भएका समाचारको खण्डन गरेका छन् । महानिरिक्षक खनालले आफ्नो दुबई भ्रमणका क्रममा कोही पनि विवादित व्यक्तिसँग भेट नभएको प्रष्ट पारेका छन् ।
गैर आवासीय नेपाली संघको कार्यक्रममा सहभागी हुने क्रममा सुन तस्करसँग भेट गरेको भन्ने खबर सार्वजनिक भैरहेकाबेला आईजीपी खनालको यस्तो कुरा सार्वजनिक भएको हो । उनले भने, ‘म कार्यक्रममा जम्मा एक घन्टा बसें, त्यस लगत्तै फर्किएँ ।’
शनिबार मात्रै इन्टरपोलको महासभामा भाग लिएर एक सातापछि उनी काठमाडौं फर्किएका थिए । डीआईजी निरज शाही, एसएसपी देउती गुरुङ, एसएसपी उमेशराज जोशीसहित भ्रमणमा गएका उनलाई गैर आवासीय नेपाली संघको कार्यक्रममा साढे ३३ किलो सुन तस्करीका अभियुक्त ठाकुर ढुंगाना पनि सहभागी भएको भन्दै आलोचना भएको थियो ।
आईजीपी खनालले भने, ‘हतारमा कार्यक्रममा सहभागी भएर सम्बोधन गरी फर्किएको हुँ, कार्यक्रममा आउने व्यक्तिपिच्छे चिन्ने र हेर्ने कुरा भएन ।’