बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित

सोमबार, मंसिर १० २०७५

काठमाडौं मंसिर, १०–
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ ।  केन्द्रीय कमिटी सदस्यहरुको कार्य बिभाजनको गृहकार्य अपुग भएको भन्दै बैठक स्थगित भएको नेकपा स्रोतले जनाएको छ । यसअघि आइतवार दिनभरी गृहकार्य गरेर सोमवार सचिवालय बैठकले केन्द्रीय सदस्यहरुको कार्यबिभाजन टुंगो लगाउने भनिएको थियो ।

तर, ४४१ सदस्यीय केन्द्रीय कमिटीका सदस्यहरुको कार्य बिभाजनको लागि गृहकार्य अपुग भएपछि सचिवालय बैठक एक दिन सरेको हो । स्रोतका अनुसार नेताहरुको रुचि, आवश्यकता र विषय विज्ञताका आधारमा कार्य बिभाजन गर्नुपर्ने भएकाले समय लिएको स्रोतले जनाएको छ ।
 बहुसंख्यक केन्द्रीय सदस्यहरुलाई भूगोलको काममा खटाइने भएको छ । पोलिटव्यूरो गठन गरेरमात्र केन्द्रीय कमिटीको कार्य बिभाजन गर्न केही नेताहरुले भने पनि अध्यक्षद्वय केपी ओली र प्रचण्डले तत्काल पोलिटव्यूरो गठनतिर चासो नदिएको एक नेताले बताए ।

नेकपाको केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी सम्हालिरहेका नेता कृष्णगोपाल श्रेष्ठले अहिले केन्द्रीय सदस्यहरुको कार्य बिभाजन सचिवालयले टुंगो लगाएपछि स्थायी कमिटी बैठक बस्ने जानकारी आफूले पाएको बताए । उनले पोलिटव्यूरो गठन अहिले नहुने जानकारी दिए ।

स्रोतका अनुसार नेकपाका स्थायी कमिटी सदस्यहरुलाई प्रदेश इन्चार्ज र महत्वपूर्ण बिभागको प्रमुखको जिम्मेवारी दिइने भएको छ । विदेश बिभाग, प्रचार विभाग, संसदीय बिभाग, अर्थ तथा योजना विभाग, नीति अनुसन्धान बिभाग र संगठन बिभाग जस्ता विभागीय प्रमुखको जिम्मा सचिवालय र स्थायी कमिटीका सदस्यले पाउनेछन् ।

त्यस्तै पोलिटव्यूरो गठन नभएकाले तत्कालीन एमालेका पोलिटव्यूरो र तत्कालीन माओवादीको स्थायी कमिटी तथा सचिवालयमा रहेका नेताहरुमध्येबाट जिल्ला इन्चार्ज तोकिने भएको छ । यद्यपि सिनियर केन्द्रीय सदस्यहरुले पनि जिल्ला इन्चार्जको जिम्मेवारी पाउनेछन् ।