९ मंसिर, काठमाडौं–समानुपातिक सांसदले आफूहरूसँग समन्वय नै नगरी प्रत्यक्ष निर्वाचित सांसदले एकलौटी रूपमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन गरेको भन्दै असन्तुष्टि जनाएका छन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
महोत्तरीकी समानुपातिक सांसद् इन्दुकुमारी शर्मा राष्ट्रिय जनता पार्टीका सांसद महन्थ ठाकुरसँग यही कार्यक्रमबाट रिसाइन् । शर्माले ठाकुरले गरेको निर्णयप्रति असन्तुष्टि मात्र जनाएकी छैनन कि अदालतमै जाने चेतावनी दिएकी छिन् । उनले यस्तो चेतावनी दिए पनि ठाकुरले टेरेका छैनन् ।
सामान्य छलफल गरेजस्तो गरेर ठाकुरले आफूखुशी योजना बाँडेको शर्माको दावी छ । ठाकुर महोत्तरी –३ बाट निर्बाचित सांसद हुन् भने शर्मा तत्कालीन नेकपा माओवादी केन्द्रकी समानुपातिक सांसद् हुन् ।
अरु समानुपातिक सांसदको पनि यस्तै गुनासो छ । बझाङबाट समानुपातिकमा छनौट भएकी तत्कालीन नेकपा एमालेकी सांसद आशाकुमारी बिक हातै थापेर योजना माग्नुपर्ने अवस्था रहेको बताउँछिन् । उनले भनिन्, ‘समानुपातिक सांसदले पनि बजेट परिचालन गर्न पाएको भए जनताको चित्त बुझाउन सकिन्थ्यो ।’
यसअघि समानुपातिक सांसदलाई ५० लाख दिने गरिएको स्मरण गर्दै उहाँ बजेट नै नपाउँदा जनताको चित्त बुझाउन र साझा मत जुटाउन गाह्रो भएको अनुभव सुनाउँछन् ।