काठमाडौं मंसिर, ६–
नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली अलमलिएको तथा बरालिएको अवस्थामा रहेको आरोप लगाएका छन् । बिहिबार धनगढीमा पत्रकारसँग कुरा गर्दै नेता थापाले प्रधानमन्त्रीको त्यही अवस्थाको कारण परिणाम नआएको उनको दाबी समेत गरे ।
उनलेद प्रधानमन्त्री ओली आफूले गर्नुपर्ने काममा फोकस हुन नसकेको समेत टिप्पणी गरे । नेता थापाले भने, ‘अहिले नै म प्रधानमन्त्रीको नियतमा शंका गर्दिन, हिजो मन्त्री र सचिवहरुको बैठक हेरेँ, मलाई रिजल्ट देउ भनिराख्नु भएको छ र, रिजल्ट कसरी ल्याउने भन्ने थाहा नै पाइराख्नु भएको छैन ।’
नेता थापाले थपे, ‘प्रधानमन्त्री राम्रो गर्न चाहनुहुन्छ, बाटो चाँडो बनाउन चाहनुहुन्छ, विद्युत उत्पादन गर्न चाहनुहुन्छ । चाहना ठीक छ तर, के गर्यो भने त्यो प्राप्त गर्न सकिन्छ भन्ने बुझ्नु भएन ।’
उनले पार्टी सभापतिको पनि आलोचना गरे । प्रमुख प्रतिपक्षको रुपमा सरकारलाई सहयोग गरेको तर, आवश्यकता अनुसार दबाव सिजर्ना गर्न नसकेको उनले बताए ।
सभापतिमात्र होइन, दलका दोस्रो तेस्रो तहका नेताहरुले पनि संसदमा उभिएर सरकारलाई प्रश्न गरेको आफूले नपाएको उनको भनाइ छ । कांग्रेसले प्रतिपक्षी दलदका रुपमा सशक्त भूमिका खेल्न नसकेको उनको भनाइ छ ।