काठमाडौं मंसिर, ५–
माउ पार्टी नेपाली कांग्रेसले सक्किएको नेविसंघको म्याद थपिदिए पनि नेविसंघ भित्रको विवाद सुल्झिनुको साटो झन् बल्झिएको छ । कांग्रेसले दुई महिनाभित्र महाधिवेशन गर्न भन्दै नेविसंघको कार्यसमितिको कार्यकाल थपेपछि महाधिवेशन नै नगराउने नियत रचिएको भन्दै महामन्त्री कुन्दन काफ्ले समूह राजीनाको तयारीमा रहेको छ ।
काफ्लेले ६ महिनाको समय नभइ महाधिवेशन गर्न नसकिने दावी गरेका छन् । उनले भने, ‘मलाई नेतृत्वमा आउँछ भन्ने डरले महाधिवेशन भाँड्न खोजिएको छ ।’
‘अहिले उमेर लगाएर अधिवेशन गर् भन्ने र अब आउने कमिटिलाई उमेर नलगाइ गर्न खोज्ने प्रपञ्चमा पार्टी नेतृत्व जुटेको छ’, पार्टी नेतृत्वलाई आरोप लगाउँदै उनले भने, ‘नेविसंघका अध्यक्ष नैनसिंह महर त्यो कुरा चाहीं पुरपार गर्नका लागि लागिरहेका छन् ।’
उनलदे भने, ‘दुई महिनासम्म महर नै रहने तर अधिवेशन नगर्ने । अनि नैनसिंह महरको गलत कामको जिम्मेवारी चाहीं हामीले पनि लिनुपर्ने पञ्पन्च रचिएकाले नेविसंघको विधिवत महाधिवेशनको लागि राजीनामा दिने तयारीमा छौं ।’
उनले कमिटि भित्रबाट भन्दा बाहिरबाट विधिवत महाधिवेशनको सुनिश्चितता गर्न सक्ने अवस्था देखिएको समेत बताएका छन् ।
उनले महाधिवेशनको सुनिश्चितताका लागि नै आफूले सबै समूहसँग छलफलसमेत गरेको दाबी गरे ।
उनले भने, ‘त्यो कारणले विधिवत महाधिवेशनका लागि माग गर्दै हामी सामुहिक राजीनामाको तयारीमा जुटेका छौं । भित्र रहेर हामी नहुने कामको जिम्मेवारी लिन चाहन्नौं । केही दिनमै राजीनामा दिन्छौं ।’
महामन्त्री काफ्लेले नेतृत्वप्रति प्रश्न खडा गर्दै भने, ‘महर एजेन्डाविहीन भएका हिँडेका छन् । हामीले मनोजाणि आचार्यका साथीसंग र नैनसिंह महरसंग पनि सहकार्य गर्यौं । त्यो महाधिवेशनका लागि थियो । अध्यक्ष जिम्मेवार नभएकाले साथमा हिँड्नुको आवश्यकता छैन ।’
काँग्रेस केन्द्रीय समिति बैठकले आइतबार राति बहुमतका आधारमा नेविसंघको वर्तमान कार्यसमितिको म्याद दोश्रो पटक थप गरेको हो । गत २ भदौसम्म वर्तमान निर्वाचित कार्यसमितिको म्याद भए पनि विधान अनुसार तीन महिना थप गरेर २ मंसिरसम्म पुर्याइएको थियो । त्यसपछि फेरि दुई महिना थपेर माघ २ गतेसम्म पुर्याइएको छ ।
आइतबारको बैठकमा म्याद थप गर्ने कि विघटन गर्ने भन्नेमा नेताहरु बीच विवाद थियो। तर बैठकले विवाद बीच पुनः दुई महिना म्याद थप गर्ने निर्णय गरेको हो। शनिबार र आइतबार गरी सो विषयलाई टुंगो लगाउन भन्दै नेताहरु दिनभर जसो अनौपचारिक बैठकमा बसेका थिए।