४ मंसिर, काठमाडौं–कम्बोडियाका प्रधानमन्त्री हुन सेन काठमाडौँ आउँदैछन्। उनको भ्रमणलाई औपचारिकता दिँदै सरकारले द्विपक्षीय भनेको छ। तर उनी सरकारी निमन्त्रणामा होइन, विवादास्पद एनजीओरआईएनजीओको कार्यक्रममा आउन लागेका हुन् । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
एनजीओ/आईएनजीओले सरकारसँग मिलेर अर्को साता ‘एसिया प्यासिफिक समिट–२०१८’ आयोजना गर्दैछन्। मसिंर १३ र १४ गते हुने सम्मेलनमा हुन सेनसहित चार दर्जनभन्दा बढी मुलुकका राजनीतिज्ञ आउने बताइएको छ। ती मुलुकका बहालवाला र पूर्व पदाधिकारी (राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, विदेश मन्त्री, सभामुख) सहित विभिन्न संघसंस्थाका प्रतिनिधि आउने छन्।
यो सम्मेलन नेपाल सरकार, प्रतिनिधि सभा, युनिभर्सल पिस फेडरेसन (यूपीएफ), नेसनल कन्फेरेन्स अफ एसियन पोलिटिकल पार्टीज् (आईक्याप) र इन्टरनेसनल एसोसियसन अफ पार्लियामेन्टेरियन फर पिस (आईएपीपी)को सहकार्यमा हुँदैछ।
सम्मेलनमा आउन लागेका अन्य केही मुलुकका मन्त्रीहरूको भ्रमणलाई पनि औपचारिक बनाइएको परराष्ट्र मन्त्रालयका एक अधिकारी बताए। सुरक्षाका कारण ती मन्त्रीको नाम सार्वजनिक नगरिएको उनले बताए। सम्मेलनमा म्यानमारकी विदेशमन्त्री आङ सान सू ची समेत सहभागी हुने भनिएको छ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कम्बोडियाको प्रधानमन्त्री सेनले नेपालको औपचारिक भ्रमण गर्ने बताएका थिए। जापान जानुअघि पत्रकार सम्मेलनमा ज्ञवालीले सरकार समेतको आयोजनामा हुने अन्तराष्ट्रिय कार्यक्रममा हुन सेन सहभागी रहने जनाएका थिए।
त्यसबेला ज्ञवालीले त्यो अन्तर्राष्ट्रिय कार्यक्रम नेसनल कन्फेरेन्स अफ एसियन पोलिटिकल पार्टीज् (आईक्याप)को आयोजनामा हुने बताएका थिए। तर उक्त कार्यक्रम आईक्यापको मात्र नभएको खुलेको छ। त्यसमा युनिभर्सल पिस फेडरेसन (यूपीएफ) र त्यससँग सम्बन्धित एक भारतीय संस्था पनि सहभागी हुनेछ।
सम्मेलनको तयारी होटल हायातमा भइरहेको छ। यसबारे चीन र भारत मात्र होइन, अन्य शक्तिराष्ट्रले पनि चासो देखाएको परराष्ट्र अधिकारीले बताए।