काठमाडौं कात्तिक, ३०–
नेपाली कांग्रेसमा नेपाल विद्यार्थी संघ म्याद थप्ने प्रस्ताव अघि सारिएको छ । केन्द्रीय कार्यसमिति बैठकको संघारमा संस्थापन समूहले नेविसंघको म्याद थप्ने तयारी थालेको हो ।
उपसभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काले वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर नेविसंघको म्याद थप्न प्रस्ताव गरेका हुन् । आसन्न स्ववियु चुनावसम्म नेविसंघको वर्तमान कार्यसमितिको म्याद थप गर्ने तयारी थालिएको कांग्रेसका एक नेताले बताए ।
यसबारे औपचारिक निर्णय गर्न शनिबार कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
नेविसंघको वर्तमान कार्यसमिति म्याद थपकै पक्षमा छ । अध्यक्ष नैनसिंह महरसँग असन्तुष्ट महामन्त्री कुन्दनराज काफ्ले समूहले यसकै लागि लबिङ गर्दै आएको छ ।
अर्जुननरसिंह केसी, कृष्णप्रसाद सिटौला पनि कमिटी भंगको विपक्षमा रहेका नेताहरु बताउँछन् । तर, देउवा समूहमा रहेका एनपी साउदलगायतका नेता तथा पौडेल समूहमा रहेका केही नेताहरु भने म्याद थपको विपक्षमा देखिएका छन् ।
नेविसंघको वर्तमान कार्यसमितिको २ वर्षे कार्यकाल गत भदौ पहिलो साता नै सकिएको हो ।
तर, महाधिवेशन गर्न नसकेपछि माउ पार्टी कांग्रेसले महाधिवेशन गर्ने गरी ३ महिना म्याद थप्यो । यो बीचमा ३२ वर्ष उमेर हद लगाउनेबारे कांग्रेसको शीर्ष तहमै विवाद देखियो र थपिएको तीन महिने समय खेल गयो । अब फागुनमा हुने स्ववियु चुनावलाई देखाएर कार्यसमितिको म्याद थप्ने तयारी भइरहेको छ ।