बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

१३ वर्षीया एन्जिना खड्काको बलात्कारपछि हत्या गर्ने दुईजना पक्राउ

बिहिबार, कार्तिक २९ २०७५

गाइघाट कात्तिक, २९–
१३ वर्षीया बालिका एन्जिना खड्काको हत्यामा संलग्न दुई अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको छ । गत शनिबार उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँमा बाख्रा चराउन गएकी  एन्जिनाको हत्या भएको  थियो । 
बिहिबार जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले पत्रकार सम्मेलन गरी उक्त घटनाबारे जानकारी गराएका हुन् । प्रहरीका अनुसार बालिका हत्यामा संलग्न भएका दुई बालक १४ वर्षीय बहादुर राई (नाम परिबर्तन) र अर्का १७ वर्षीय बिपललाई बालिका हत्याका अभियोगमा चार दिनको अनुसन्धानपछि सार्वजनिक गरिएको हो ।

 गत शनिबार बालिका खड्का एक्लै घरनजिकैको जङ्गलमा बाख्रा चराउन गएकी थिइन् । बालिका एक्लै देखेर दुई अभियुक्तले बालिका भएको स्थानमा गएर पक्रेर बलात्कारपछि हत्या गरेको  स्वीकार गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । 

बाख्रा चराउन गएकी बालिका राति अबेरसम्म घरमा नआएपछि अभिभावकसहित छिमेकीले रातभरि खोज्ने क्रममा आइतबार २ बजे नजीकैको खरबारी पाखाको एक रूखको फेदमा शरीरमा लगाएको कपडा च्यातिएको, घाँटीमा नीलडाम र मुखमा कपडा खादेको अवस्थामा मृतावस्थामा बालिका भेटिएको प्रहरीले बताएको छ ।

घटना अनुसन्धान गर्न प्रहरीले घटनास्थलमा चिकित्सकको टोली, तालिम प्राप्त कुकुरसहितको प्रविधि प्रयोग गरेको थियो भने शवपरीक्षणको लागि सुनसरीको बिपी मेमोरियल अस्पताल पठाएको प्रहरीले बताएको छ । अनुसन्धानमा प्रहरीले ६ जना पक्राउ गरे पनि हत्यामा संलग्न दुई जना मात्र भएको पुष्टि भएपछि आज अभियुक्तहरुलाई सार्वजनिक गरेको र अन्यलाई छाडिएको प्रहरीले बताएको छ ।