१७ कात्तिक, काठमाडौं–युवा तथा साना व्यवसायी स्वरोजगार कोष र राष्ट्रिय सतर्कता केन्द्रबीच आरोप–प्रत्यारोप लगाइएको छ। कोषले २०७५ असोजसम्म लगानी गरेको ८ अर्ब रकममा ठूलो अनियमितता भएको केन्द्रको निष्कर्ष छ। केन्द्रले चार महिना लगाएर तयार गरेको प्रतिवेदनमा कोषको लगानी ‘बलुवा पानी’ भएको उल्लेख छ। अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
कोषले भने केन्द्रबाट खटिएका टोलीले स्थलगत अध्ययन नगरी सहकारी संस्थाले लगानी गरेको कर्जाग्राहीको विवरण उतारेर प्रतिवेदन बनाइएको आरोप लगाएको छ। कतिपय जिल्लामा केन्द्रको टोली स्थानीय सहकारी संस्थासम्म पनि नपुगी आफू बसेको होटलमै सहकारीका पदाधिकारीलाई बोलाएर व्यवसायीको विवरण बनाएको पाइएको कोषको दाबी छ।
केन्द्रले तयार पारेको प्रतिवेदनले व्यवसायीको यथार्थ अवस्था चित्रण गर्न नसकेको कोषका कार्यकारी निर्देशक डा। विष्णुप्रसाद गौतमको भनाइ छ। लगानी कोषको उद्देश्य र निर्र्देशिकाअनुसार काम भइरहेको उनको दाबी छ। कोषले स्वरोजगारका नाममा खर्चेको ठूलो रकम अनियमितता भएको केन्द्रका सहायक प्रवक्ता डालनाथ अर्यालले अन्नपूर्णलाई बताए।
केन्द्रको अनुसन्धानमा कोषबाट स्वरोजगार बनेको भनिएका व्यक्ति त्यसअघि व्यवसायमा आबद्ध रहेको पाइएको थियो। कोषले झूटो दाबी गरेकाले उसले खर्चेको अर्बौं रुपैयाँको खोजी आवश्यक रहेको अर्यालको भनाइ छ। कोषमा भएको अनियमिततासहितको विवरण प्रतिवदेन अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको छ।