१५ कात्तिक, काठमाडौं–स्थानीय तहसँग मिलेर शान्ति सुरक्षालाई मजबुत बनाउन नेपाल प्रहरीले तीन सय ६४ स्थानीय तहसँग समझदारी गरेको छ । सात सय ५३ वटै स्थानीय तहसँग साझेदारी गर्ने प्रहरीको योजना छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
‘बुधबारसम्म तीन सय ६४ स्थानीय तहसँग प्रहरीको एमओयु भइसकेको छ’, केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले बुधबार आयोजित पत्रकार सम्मेलनमा भने, ‘थप स्थानीय तहसँग सम्झौता हुने क्रममा छ ।’
आइतबारदेखि प्रहरीले सुरु गरेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम कार्यान्वयनका लागि प्रहरीले सबै स्थानीय तहसँग सहकार्यमा सम्झौता गर्न लागेको छ । सबै स्थानीय तहका प्रमुखको नेतृत्वमा समिति गठन गरी प्रहरी परिचालन गरिने उद्देश्य रहेको छ ।
समझदारीअन्तर्गत प्रहरीले स्थानीय तहबाट आर्थिक सहयोग पाउनेछ । ‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक सहयोगका लागि परिपत्र गरिसकेको छ,’ एसएसपी सुवेदी भन्छन्, ‘सामान्य प्रशासनिक खर्च हाम्रो हुन्छ, सुरक्षाका अन्य ठूला खर्च स्थानीय तहबाट प्राप्त हुनेछ ।’ नागरिकसँग घुलमिल भएर सम्बन्ध सुधार गरी शान्ति सुरक्षालाई बलियो बनाउन अभियान सुरु गरेको उनले बताए ।
कार्यक्रमअन्तर्गत वार्षिक करिब १९ करोड खर्च हुनेछ । ‘त्यो रकम प्रहरीले मापसे कारबाहीबाट संकलन गर्ने राजस्वको करिब १९ प्रतिशत मात्र हो,’ मुख्यालयका एक अधिकारी भन्छन्, ‘यो कार्यक्रम कार्यान्वयन हुन सके ठूलो परिवर्तन हुनुका साथै शान्ति सुरक्षामा निकै सुधार आउनेछ ।’
कार्यक्रमअन्तर्गत देशभरिका ३६ हजार विद्यालयमा पुगेर प्रहरीले पढाउने भएको छ । लागुऔषधको जोखिम, सडकसुरक्षा, आधारभूत कानुन, साइबर सुरक्षा, महिला, बालबालिकाविरुद्ध हुने अपराध र त्यसको रोकथामका विषयमा प्रहरीले पाठ्यक्रम नै बनाएर पढाउने भएको हो ।
अभियानअन्र्तगत प्रहरीले देशभरि स्वयंसेवक परिचालन गर्नेछ । खासगरी, स्कुल र कलेजका विद्यार्थीलाई लक्षित गरी स्वयंसेवक खटाउन लागेको प्रहरीले जनाएको छ । एकीकृत स्वयंसेवक परिचालन अभियानअन्र्तगत स्वयंसेवक संस्था र विद्यार्थी स्वयंसेवकलाई परिचालन गर्न लागिएको हो । प्रहरीको काममा स्वयं सेवा गर्नेलाई प्रहरीले प्रमाणपत्र दिनेछ । सचेतना, प्रहरी–विद्यालय सम्पर्क, सामुदायिक ।गस्ती, तथ्यांक संकलन, वातावरण संरक्षणलगायतको क्षेत्रमा स्वयंसेवक खटाइनेछ ।