काठमाडौं कात्तिक, १४–
नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले अब फेरि फरक ढङ्गले जनयुद्ध गर्ने दाबी गरेका छन् । बुधबारदेखि राजधानीमा सुरु भएको पार्टीको १५ औं संघीय वैठकको उद्घाटन गर्दै संयोजक भट्टराईले पार्टीले उन्नत खालको जनयुद्ध गर्ने बताएका हुन् ।
उनले उक्त अवसरमा सशस्त्र संघर्ष नगरी फरक ढङ्गले जनयुद्ध गर्ने प्रष्ट पारे । डा. भट्टराईले भने, ‘भूमिगत कालको जनयुद्ध गर्दा जुन प्रकारका कठिनाइहरु हामीले भोग्यौं, दृढतापूर्वक लाग्यौं र त्यसलाई निश्कर्षमा पुर्याएका थियौं’ उनले भने, ‘अब त्यो भन्दा महान, त्यो भन्दा उन्नत प्रकृतिको एउटा संघर्ष अब हामी गर्दैछौं ।’
राजनीति भनेकै संघर्ष भएको भन्दै भट्टराईले नयाँ शक्ति पार्टीले आफुलाई स्थापित गराउन र जनतालाई आर्थिक विकास र समृद्धि दिनका लागि अब नयाँ ढङ्गले राजनीतिक संघर्ष गर्ने उल्लेख गरे । सत्तारुढ नेकपा, कांग्रेस लगायतका दलहरु पनि संघर्षबाटै आएको उनीहरुका राजनीतिक बिचार र सिद्धान्त पुरातन हुँदा नेपाली जनताले नयाँ खालको बिचार र सिद्धान्त खोजिरहेको उनले बताए ।
कांग्रेस, सत्तारुढ नेकपा असफल भए आफ्नो पालो आउँछ भनेर बसिरहेकाले देशलाई आर्थिक विकास र समृद्धि दिनका लागि अर्को कुनै शक्ति देखा नपरेको भन्दै उनले नेपाली जनताको चाहना बमोजिम नयाँ खालको बिचार र दृष्टिकोण बोकेर नयाँ शक्ति अगाडि बढ्ने बताए ।
आफुले यूरोप, अमेरिका भ्रमण गरेको आएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले भन्दा बढी सम्मान र सत्कार पाएको पनि जिकिर गरे । ‘देशको प्रधानमन्त्रीसँग मेरो तुलना गर्न त मिल्दैन’ उनले भने, ‘तर मलाई तपाईँले प्रधानमन्त्रीले भन्दा बढी सम्मान पाउनुभयो भनेर अरुले सुनाए । त्यसकारण हामी कम छैनौं ।’
नयाँ शक्तिको देशभित्र र बाहिर पनि राम्रो प्रभाव रहेको दाबी गर्दै भट्टराईले पार्टीको संगठन भने स्थानीय जनतासम्म प्रभावकारी बनाउन नसकिएको स्वीकार गरे । अबको पाँच महिना स्पष्ट योजना बनाएर पार्टीको संगठन वडा तहसम्म पुर्याइने कार्यलाई प्राथमिकता दिइने उनले बताए ।
नयाँ शक्तिको १५ औं संघीय वैठक राजधानीमा दुई दिनसम्म चल्नेछ ।