सर्लाही कात्तिक, १४–
नेपाली कांग्रेसले जिल्ला प्रशासन कार्यालय सर्लाही घेराउ गर्ने तयारी गरेको छ । सर्लाही क्षेत्र नम्बर ४ स्थिति रामनगर गाउँपालिका–४ का राम विलास महतोलाई नेकपाका कार्यकर्ताले गोली हानी हत्या गरेको विरोधमा कांग्रेसले आज जिल्ला प्रशासन घेर्न लागेको हो ।
मंगलबार रामनगर गाउँपालिका–४ मा कांग्रेसका तर्फबाट विजयी वडाध्यक्ष राम नरेश महतोका काका राम विलासको गोली हानी हत्या गरिएको थियो । उक्त घटनाको विरोधस्वरुप कांग्रेसका उपसभापति विमलेन्द्र निधि, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, प्रदेश सांसद विरेन्द्र सिंह लगायतको अगुवाइमा प्रशासन कार्यालय घेराउ गर्न लागिएको हो ।
कांग्रेसले मंगलबार साँझ विज्ञप्ती जारी गर्दै हत्या र झडपको भत्र्सना गर्दै मृतकलाई शहीद घोषणा गर्न, घाइतेहरुको निःशुल्क उपचार गर्न र घटनामा संलग्न अपराधीलाई कडा कारवाही गर्न माग गरेको छ ।
रामनगर गाउँपालिका–४ मा मंगलबार विहान नेपाल कम्युनिष्ट पार्टी नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको थियो भन सात जना घाइते भएका थिए ।
सोमबार विहान सोही वडाका वडाध्यक्ष रामनरेश महतोमाथि भएको कुटपिटको विषयलाई लिएर मंगलबार झडप भएको बुझिएको छ ।
बिहान ७ वजे दुई सयको संख्यामा आएका नेकपाका कार्यकर्ताहरुले आएर कुटपिट तथा गोली चलाउँदा वडाध्यक्ष महतोका काका ५५ बर्षीय राम बिलासको मुख र पेटमा गोली लागि घटना स्थलमै ज्यान गएको हो ।
घाइते हुनेहरुमा सोही वडाका महदेव राय, बिबेक महतो, प्रमोद सहनी, भोजेन्द्र महतो, श्रीनारायण महतो, प्रेम नारायण महतो, मुकेश प्रसाद महतोलाई गोलीको छरा लागि घाइते भएका स्थानीय प्रेम सिंहले जानकारी दिए ।
झडपका क्रममा १० वटा घरमा पनि समेत तोडफोड भएको छ । सोमबार बिहान सोही वडाका वडाध्यक्ष रामनरेश महतोलाइ नेकपाका कार्यकर्ताले कुटपिट गर्दा घुँडा भाचिएको र टाउकोमा गम्भीर चोट लागेर घाइते भएका थिए ।