१० कात्तिक, काठमाडौं-काठमाडौंको तारकेश्वर–५ लोलाङ हाइटमा ट्रकको ठक्करबाट मृत्यु भएकी गोरखा सहिद लाखन–७ की ७० वर्षीय तिलकुमारी तिवारीको शव शुक्रबार साँझसम्म पनि उठ्न सकेको छैन । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
सोही ट्रकको ठक्करबाट उपचारका क्रममा अस्पतालमा मृत्यु भएका तिलकुमारीका नाति तीन वर्षीय आजित तिवारी, नुवाकोट ककनीकी ६० वर्षीया सावित्री पुडासैनीको शव पनि आफन्तले बुझेका छैनन् । घटना स्थलमै मृत्यु भएकी तिलकुमारीको शव घटना स्थलमै प्लास्टिकले छोपेर राखिएको छ । ट्रकको ठक्करले टाउकोबाट उछिट्टिएको गिदी, रगत सडकमै असरल्ल छन् । नाति आजितको शव भने टोखास्थित ग्रिनसिटी अस्पतालमा राखिएको छ ।
अर्का मृतक सावित्रीको शव महाराजगन्जस्थित शिक्षण अस्पतालमा राखिएको छ । सडकमा हिँडिरहेका वेला उनीहरूलाई शुक्रबार बिहान १०ः२० बजे ना६ख ७८२६ नम्वरको १० चक्के ट्रकले ठक्कर दिएको थियो । प्रहरीले ट्रक चालकलाई भने अझै पक्राउ गर्न सकेको छैन ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी वसन्त पन्तले शुक्रबार बिहान भएको ट्रकको ठक्करबाट तीनजनाको मृत्यु भएको र त्यसमध्ये घटनास्थलमै मृत्यु भएकी तिलकुमारीको शव उठ्न नसकेको बताए ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले ट्रकका चालक पक्राउ नपरेको र ट्रकका मालिक सम्पर्कमा नआएकाले स्थानीयले मृतक शव बुझ्न नमानेको बताए । उनले भने, ‘शव घटनास्थलमा नै छ । स्थानीयको विरोधपछि शव उठान सकिएको छैन । ट्रक चालकलाई पक्राउ गर्नुपर्ने र ट्रकका मालिकलाई घटनास्थलमा उपस्थित गराउनुपर्ने उनीहरूको माग छ । घटनालाई संवादबाटै समाधान गर्ने प्रयास गरिँदा शव उठ्न ढिला भएको हो ।’
प्रहरीका अनुसार ठक्कर दिँदा ट्रक खलासीले चलाइरहेका थिए । सिमेन्ट अनलोड गरेर फर्कने क्रममा ट्रकले तीन पैदलयात्रीलाई ठक्कर दिएको हो । लगत्तै चालक फरार भए । प्रहरीका अनुसार ग्रामीण सडकमा फुटपाथ नहुँदा धेरै दुर्घटना हुने गरेको छ ।
शुक्रबार तिलकुमारी नाती आजित र साथी सावित्रीसँगै पैदलयात्रा गरिरहँदा अनियन्त्रित ट्रकले ठक्कर दिएको थियो । ट्रकले सोहर्दै तिलकुमारीलाई केही पर लगेको थियो । आजित र सावित्रि भने ठक्करबाट उछिटिएर अर्कोतर्फ पुगेका थिए । एसएसपी पन्तले भने, ‘दुर्घटना भएको ठाउँमा फुटपाथ छैन । त्यसो हुँदा पैदलयात्री सडकमै हिँड्नुपर्ने अवस्था छ । यस्तोमा दुर्घटनाको जोखिम बढी हुन्छ ।’