बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेविसंघको को ३२ बर्षे उमेर हदले कांग्रेसमा विवाद, पौडेल र सिटौलासहित चार नेताले लेखे ‘नोटअफ डिसेन्ट’

सोमबार, असोज २२ २०७५

 काठमाडौं असोज, २२–
नेपाली कांग्रेसमा नेपाल विद्यार्थी संघको बिषयलाई लिएर चर्को विवाद उत्पन्न भएको छ । संस्थापन पक्षसँग वरिष्ठ नेता रामचन्द्र पौडेल तथा सिटौला पक्षको कुरा नमिलेकोख हो । वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता सिटौलासहित ४ जनाले   ३२ वर्षे उमेर हदलाई लिएर कांग्रेस केन्द्रीय कार्यसमितिमा नोटअफ डिसेन्ट लेखेका छन् ।
आइतबार राति अबेर सकिएको केन्द्रीय समितिको बैठकले नेवि संघको ११ औं महाधिवेशनबाट पारित ३२ वर्ष उमेर हदलाई कायम राख्ने निर्णय भएको थियो । यो निर्णयसँगै नेवि संघको आसन्न महाधिवेशनमा ३२ वर्ष कटेका नेताहरु उम्मेदवार नै हुन नपाउने भए ।

यो निर्णयमा पार्टी सभापति शेरबहादुर देउवाइतर समूहका प्रभावशाली नेताहरुले नै नोट अफ डिसेन्ट लेखेका छन् । वरिष्ठ नेता पौडेल, कृष्ण सिटौला, प्रकाशमान सिंह र अर्जुननरसिंह केसीले नोट अफ डिसेन्ट नै लेखेका हुन् ।
स्रोतका अनुसार बैठकमा नेवि संघमा ३२ वर्षे उमेर हद लागू गर्ने कि नगर्ने भन्दै बहस थालिएको थियो ।
तर, वरिष्ठ नेताहरुले समग्र विधान ल्याउनुका साटो एउटा धारामा बहस गराएको भन्दै विरोध गरे । उनीहरुले आफूहरु ३२ वर्षे उमेर हदको विरोधमा नभएको तर, समग्र विधानमा छलफल गर्नुपर्ने धारणा राखेका थिए ।

त्यसपछि निर्देशक समितिका संयोजक एवं सहमहामन्त्री प्रकाशशरण महतले विधान पेश गरे । 
देउवाइतरका समूहका नेताहरुले ३२ वर्षे लागू हुने विदा दिने नेताहरुसँग पनि छलफल गर्नु पर्ने र भ्रातृ संगठनको विधान पार्टीले संशोधन गर्नुका साटो निर्देशन दिएर उनीहरुलाई नै संशोधन गर्न लागाउनु पर्ने तर्क गरेका थिए ।

तर, संस्थापन समूहको बहुमत भएको बैठकले ३२ वर्षे उमेर हदसहित विधान पास गरेको छ ।

एक नेताकाअनुसार राति करिव ११ बजे सकिएको बैठकको निर्णयहरु माइन्युट गर्दा झण्डै १२ बजेको थियो, जसमा चार नेताले नोट अफ डिसेन्ट लेखेका छन् ।