चितवन असोज, १७–
गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त प्रकरण आबश्यक भन्दा बढी राजनीतिककरण भएको बताएका छन् ।
बुधबार प्रेस सेन्टर र प्रेस चौतारीले चितवनमा संयुक्त रुपमा आयोजना गरेको पत्रकार भेटभाटमा गृहमन्त्री थापाले गृह प्रशासनले सुक्ष्म ढङ्गबाट अनुसन्धान गरिरहेको भएपनि घटनामाथि विभिन्न प्रकारको राजनीतिकरण भएको बताए ।
गृहमन्त्री थापाले भने, ‘पन्तको हत्या भएको भोलिपल्टै उच्चस्तरीय अनुसन्धान टोली त्यसतर्फ पठाइएको छ । अपराधीलाई कानुनको कठघरामा ल्याउन गृह मन्त्रालय गम्भीर भएर लागिरहेको छ ।’ उनले अपराधी पत्ता लगाएरै छाड्ने भन्दै छानबिन टोलीले बुझाएको प्रतिवेदनको निष्कर्षका आधारमा दोषीलाई कारबाही गर्दै अनुसन्धानलाई जारी राख्ने बताए ।