शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

काठमाडौं प्रहरी प्रमुख लामालाई यस्तो झट्का

मंगलबार, असोज १६ २०७५

१६ असोज, काठमाडौं–महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले ‘काठमाडौं प्रहरी अवार्ड’ स्थगित गरेका छन् ।

प्रहरी नियमावलीविपरीत भएको जनाउँदै अवार्ड स्थगित गरिएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

नेपाल बंगलादेश बैंक लिलिटेडको आर्थिक सहयोगमा परिसरले गत वैशाखबाट अवार्ड वितरण गर्दै आएको थियो । तत्कालीन परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलले यसको सुरुवात गरेका थिए ।

परिसरका प्रमुख एसएसपी वसन्त लामाले तत्कालका लागि अवार्ड वितरण स्थगित गरिएको बताए ।

‘काठमाडौं प्रहरी अवार्ड तत्कालका लागि रोकिएको छ । यसलाई अझ व्यवस्थित गर्नुपर्ने देखियो,’ एसएसपी लामाले भने, ‘यसको अर्थ प्रहरीलाई अवार्ड नै नदिइने भन्ने होइन । सबै बन्दोबस्त अब सरकारी तहबाटै हुने गरी व्यवस्था मिलाइन्छ ।’

परिसरले गत चैतमा बैंकसँग १८ लाख ६० हजार प्राप्त गर्न सक्ने गरी सम्झौता गरेको थियो । उक्त रकमले वर्षदिनसम्म अवार्ड दिने परिसरको योजना थियो ।

निजी कम्पनीसँगको आर्थिक सहकार्यले दैनिक सम्पादन हुने काम र अपराध अनुसन्धानमा समेत प्रभाव पार्न सक्ने ठहर गरी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसमेत अवार्डको विपक्षमा थिए ।

बैंकसँगको सम्झौतापछि परिसरले चार लटमा मातहतका जवानदेखि वरिष्ठ प्रहरी अधिकृतसम्म २४ जनालाई अवार्ड प्रदान गरिसकेको छ ।

प्रत्येक महिना कार्यसम्पादन मूल्यांकनका आधारमा डिएसपी, इन्स्पेक्टर, सइ, असइ, हवल्दार जवान गरी ६ जनालाई अवार्ड दिँदै आएको थियो ।

जसमा डिएसपीलाई ५० हजार, इन्स्पेक्टर ३५ हजार, सइ २५ हजार, असइ २० हजार, हवल्दार १५ हजार र जवानलाई १० हजार रुपैयाँ नगद प्रदान गरिन्छ । अहिलेसम्म ६ लाख २० हजार रुपैयाँ वितरण गरिएको छ ।

महानिरीक्षक खनालको निर्देशनपछि अवार्ड वितरण रोकिएको जनाइएको छ । अवार्ड प्राप्त गर्न परिसरमातहतका प्रहरी अधिकृतबीच अस्वस्थ प्रतिस्पर्धा चलेको र यसले प्रहरीको ‘चेन अफ कमान्ड’ भत्काउन सक्ने जनाउँदै महानिरीक्षक खनालले निर्देशन दिएको जनाइएको छ ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार, अवार्ड पाउन प्रहरी अधिकृतबीच नै अस्वस्थ प्रतिस्पर्धा भएको सूचना प्राप्त भएको थियो । ‘यसले प्रहरीको मनोबल मात्र होइन, ‘चेन अफ कमान्ड’मा नै असर पुग्ने देखियो,’ स्रोतले भन्यो ।