काठमाडौं असोज, १५–
‘वरिष्ठे दाई’ अर्थात निर्देशक र कलाकार शंकर आचार्य । शंकर आचार्य भन्दा आचार्यलाई वरिष्ठे दाई भनेर धेरैले चिन्छन् । नेपाल टेलिभिजनबाट प्रशारण हुने हास्य धारावाहिक ‘भद्रगोल’का निर्देशक तथा कलाकार आचार्यले त्यो धारावाहिक छाडिसकेका छन् तर, उनलाई अहिले पनि धेरै दर्शकले ‘मिस’ गर्छन् । ‘हजुर वरिष्ठ हवस् त नमस्ते’ थेगोसहित सानो पर्दामा हिट भएका शंकर आजभोलि आफ्नै घरायसी व्यवहारमा व्यस्त छन् । आजकलको उनको व्यवस्तता के छ त ? प्रस्तुत छ उनीसँग भएको कुराकानीको सार संक्षेपः
‘भद्रगोल’ छाडेपछि फिल्म बनाउने चर्चा थियो तपाईको के हुँदैछ ?
मैले ‘लभ फरएभर’ नामक सिनेमा यसअघि पनि बनाइसकेको छु । भद्रगोल छाडेपछि फेरि नयाँ सिनेमा बनाउने तयारीमा लागेँ । तर सोचे जसरी कुरा अगाडि बढेन । बजारको अवस्था देखेर म आश्चर्यमै परेको छु । सिनेमाका लागि प्रस्ताव लिएर जाँदा चलेका भनिएका कलाकारले त मेरै अन्तर्वार्ता लिन खोजे । उनीहरु मलाई सोध्छन कि क्यामेरामा को राख्ने ? कसको स्क्रिप्ट हो ? कथा कसको ? आदि आदि । म निर्देशक, निर्माता भएपछि मेरै अन्तर्वार्ता लिनेहरु पनि भेटेँ । अनि दिक्क लाग्यो ।
कसलाई लिन खोज्नु भएको थियो नायक र नायिकामा ?
मैले नायकमा दयाहाङ राईलाई लिन खोजेको थिएँ । तर उनी त २ वर्षसम्म पूरै प्याक । २ वर्षसम्म कुरै नगर्नू भन्ने जवाफ आयो । त्यो पनि बल्ल तल्ल । उनीसँग भेट्न पनि मुस्किल । त्यसपछि साम्राज्ञीलाई हिरोइन राख्नु परो भनेर ६ महिना उनको पछि लागेँ । छ महिना अघि उनले आफ्नो दाम ७ लाख भनेकी थिइन् । सात महिनापछि फेरि भेट्न जाँदा १५ लाख पुगेछ उनको मोल । कलाकारहरुको भाउ बढ्नु त राम्रै हो तर, तीतेपाती बढेजसरी बढ्नु चाहिँ राम्रो होइन ।
कलाकारको यति धेरै भाउ त बढेछ, तर के उनीहरुमा स्टारडम छ ? उनीहरु अभिनित चलचित्र चल्ने ग्यारेन्टी हुन्छ ?
हो, यहि त हो मुख्य कुरा । म उहाँहरुलाई २० लाख पनि दिन तयार छु । तर के उहाँहरुले खेलेको सिनेमाले राम्रो व्यापार गर्ने ग्यारेन्टी हुन्छ ? सीधा कुरा हो हुँदैन । किनभने नेपालमा स्टारडमले सिनेमा चल्दैन । चलेका नायक खेलेको सिनेमाले पनि पानी नमागेको रेकर्ड छ । माग्ने बुढोले खेलेको सिनेमा रामकहानी चल्यो त ? कोही राम्रो एक दुई कलाकार हुँदैमा फिल्म राम्रो चल्ने ग्यारेन्टी हुँदैन । त्यसपछि छक्कापञ्जाको टोलीका सदस्यहरुले आफ्नो भन्दा बाहिरको सिनेमा नखेल्ने बताउनु भयो । यस्तो किन भयो होला त भन्ने सोच्दा कतै सफल भइँदैन भनेर पो हो कि ? शंका त हुन्छ नी ।
अचेल फिल्म बनाउन त सामान्य कुरा भइसक्यो नी हैन र ? जसले पनि सिनेमा बनाउछु भन्दै हिँडेका छन् ।
कसैले अनुभवका आधारमा सिनेमा बनाएका छन् । कसैले पढेर बुझेर पनि फिल्म बनाउनेहरु छन् । कोही कोही पैसाकै बलमा सिनेमा पनि बनाउँछन् । डुब्छन् पनि ।
के कलाकारीतामा लागेर पैसा, सम्मान पाइन्छ ?
यो कलियुग हो । छोराछोरीले त बाबुआमालाई सम्मान गर्दैनन् । राज्यको के कुरा ? यो आफ्नो आफ्नो भाग्यको कुरा हो । म ४० वर्षदेखि कलाकारीतामा छु । तर म भन्दा धेरै पछि आएका दयाहाङ, सौगातहरु हिट छन् । नयाँ छन् भन्दैमा मैले अवमूल्यन गर्न मिल्छ र ? मिल्दैन नी । यस्तै हो । सम्मान पाउने कुरा, नपाउने कुराहरु बेलाबखतका कुरा हुन् । कसले कस्तो संस्कार पाएको छ त्यही अनुसार सम्मान लिने र दिने कुरा हुन्छन् ।
नेपालमा सिनेमा धेरै निर्माण भएर हो कि किन हो, रिलिज मिति जुधाउने गरिन्छ ?
फिल्म धेरैले बनाएका छन् । सबै मानिसहरु राम्रो मितिको खोजीमा हुन्छन् । विदाको समय भयो भने दर्शक आउँछन् भन्ने आशा पनि हुन्छ । रिलिज गर्ने बेलामा एकै मितिमा एकमात्रै सिनेमा लगाउन सम्भव हुँदैन । एक्लैले लगानी गरेको सिनेमाका लागि केही दिन मेरो सिनेमाका लागि मात्रै समय दिनूस भन्दा पनि हलवाला र वितरकहरु मान्दैनन् । उनीहरु जसको सिनेमा राम्रो छ उसैले पाउँछ भन्छन् । शुरुमा हुन्छ हुन्छ पनि भन्छन् । तर रिलिज गर्ने बेलामा दुइवटा वा तीन वटा सिनेमा पनि जुधाइन्छ ।
गएको वर्ष हवल्दार सुन्तली भन्ने फिल्म छक्कापञ्जासँग जुध्ने भयो । जुध्दा घाटा हुने देखेर उहाँले पछि सार्नुभयो छवि ओझाजीले । नयाँ मितिमा पनि रिलिज हुन सकेन । फेरि मिति सारियो । छवि ओझा हवल्दार सुन्तली लिएर छ सात महिना पछि जानु भयो । उहाँ नियमित सिनेमा बनाउने निर्माता हो । उहाँले पछाडि सार्नुको कारण केही गिभ एन्ड टेक होला भन्ने ठानेको छु मैले । फिल्म जुधाउनु फाइदाजनक होइन । राम्रो कुरा होइन । राम्रो राम्रो दुई सिनेमा जुधे भने दुवैलाई घाटा हुन पनि सक्छ ।
सानो पर्दाका कलाकार ठूलो पर्दामा आकर्षित हुनुलाई कसरी हेर्नु भएको छ ?
अहिले हास्यधारावाहिक हिट छन् । पहिले हिजोआजका कुरा सन्तोष पन्तको हिट थियो । त्यसमा दीपकराज गिरीले तीतोसत्य चलाउनु भयो । त्यसपछि जिरे खुर्सानी, मेरी बास्सै, भद्रगोल आयो । सबै चले । नेपालमा स्क्रिप्ट राइटरको कमी छ । कमेडी स्क्रिप्ट लेख्न गाह्रो काम पनि छ । रुवाउन सजिलो छ तर रुवाउन गाह्रो छ । तर पनि नेपाल टेलिभिजनको समय बिज्ञापन एजेन्सीले किन्छन् । धारावाहिकलाई पैसा दिँदैनन् । अनि सानो पर्दा धराशयी हुन्छ । अनि ती कलाकारहरु ठूलो पर्दामा आकर्षित हुने गर्छन् ।
अब मैले चाहिँ भद्रगोलआउनु अघि नै लभ फरएभर बनाएको हो । त्यो अघि होक्से भन्ने वृत्तचित्र बनाएको हो ।
तपाई भद्रगोलमा फर्किने सम्भावना छ ?
यो भविष्यको कुरा हो । अहिले भन्न सकिदैन । हिजोको कुरा गर्न सकिन्छ, अहिलेको कुरा गर्न सकिन्छ । तर भविष्यको कुरा गर्न सकिदैन ।
दर्शकहरुले त तपाईलाई रुचाउनु भएको छ नी ?
म कतै न कतैबाट सानो पर्दामा आउँछु । मलाई सानो पर्दाप्रति मेरो माया छ । मेरो रौं रौंमा अभिनयको भूत सवार छ । म क्रियाशील भइरहन चाहने व्यक्ति हुँ । सिनेमा भन्दा पनि सानो पर्दाका धारावाहिक वा कार्यक्रमबाट बढी माया पाइन्छ जस्तो लाग्छ ।
तपाईले फिल्म बनाउन खोज्नु भएको छ, के फिल्ममा फाइदा हुन्छ र ?
फिल्ममा लगानी गर्नु भनेको लगभग पैसा डुबाउनु नै हो । एकाध सिनेमा बाहेक सबै फ्लप भएका छन् । वर्षमा १२० सिनेमा रिलिज हुन्छन् । त्यसमा १०–१५ वटा बाहेक सिनेमाले पानी पनि माग्दैनन् । मैले लभ फरएभरमै ६० लाख डुबाएँ । लुटेर ल्याएको धन मसँग पनि छैन । अनि मैले यसरी सिनेमा बनाउन ठीक हुँदैन भन्ने सोचिरहेको छु । सिनेमा बनाउँदा वितरकहरुले पनि बोलेको पूरा गर्दैैनन् । आधा पैसा उनीहरुले नै खाने, बाँकी हल र हामीले पाउने हो । कति दर्शक आए, कति टिकट बिक्री भयो केही थाहा हुँदैन । यसकारण मैले बक्स अफिसको सिस्टम राम्रोसँग लागू नभएसम्म सिनेमा नबनाउने निर्णय गरेको छु ।
तपाईले भद्रगोल धारावाहिक चाहिँ किन छाड्नु भएको हो ?
भद्रगोलका मुख्य दुई जिम्मेवार भनेको कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ हुन् । उनीहरु मेरा भाई साथी हुन् । मिलेर काम पनि गरियो । राम्रै भएको पनि हो । तर उमेर ग्यापले स्वभावतः जेनेरेसन ग्याप गरिदियो । जसका कारण भद्रगोल मेरो लागि फिट हुन छाड्यो । भाईहरुको लहलहैमा लागेर हिँडिरहन सकिनँ । भाइसाथीहरुको पछाडि पुच्छर हल्लाएर हिँडन नसक्ने अवस्था आएपछि मैले भद्रगोल छाडिदिएँ । आजको अमृतबजार साप्ताहिकमा खबर छ ।