८ असोज, काठमाडौं– थारु कल्याणकारी सभा (थाकस)को २२औं महाधिवेशन भावी नेतृत्व चयनका विषयमा तीव्र ध्रवीकृत भएको छ । थारुहरूको छाता संगठन थाकसको तीन दिने २२औं महाधिवेशन आइतबारबाट सुरु भएको छ।
सात दशकअघि जन्मिएको थाकसको महाधिवेशन कसले उद्घाटन गर्ने भन्नेमा थारु नेताबीच विवाद बढेको थियो । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
थाकसका यसअघिका महाधिवेशन राष्ट्र प्रमुख वा सरकार प्रमुखबाट उद्घाटन गरिएका थिए । संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन प्रधानमन्त्री केपी ओली शनिबार न्यूर्योक गएपछि थाकस नेतृत्वले कांग्रेस सभापति शेरबहादुर देउवाबाट महाधिवेशन उद्घाटन गराउने निर्णय लिएको थियो। तर देउवाको नाउमा सबैको सहमति हुन सकेन ।
महाधिवेशन उद्घाटन कोबाट गराउने भन्नेमा नेकपा र कांग्रेस पक्षधरबीच सभास्थलमै भनाभन भएको थियो । यो विवाद थाहा पाएपछि प्रमुख प्रतिपक्ष दलका नेता कांग्रेस सभापति देउवा उद्घाटन स्थलमा आएनन् ।
देउवालाई प्रमुख अतिथिका रुपमा अस्वीकार गर्ने भन्दै नेकपा निकटका थाहरूले कार्यक्रम स्थलमा नारावाजीनै गरेका थिए। उद्घाटन गर्न देउवाका पक्षमा माहोल नबनेपछि उनललाई निवासमै राकिएको थियो ।
दुई पक्षबीच विवाद बढेपछि थारु कल्याण महासंघ भारतका अध्यक्ष दिपनारायण प्रसादबाट महाधिवेशन उद्घाटन गराइएको थियो । नेकपा निकटका थारुहरूले देउवासहितका नेता अखण्ड सुदुरपश्चिम आन्दोलनलाई सहयोग गरेको र थारुमाथि दमन गरेको आरोप लगाएका थिए । अखण्ड अखण्ड सुदुरपश्चिम आन्दोलनलाई एमाले नेता केपी ओलीले पनि सहयोग गर्दै थरुहट आन्दोलनविरुद्ध लागेको आरोप छ ।
थाकसका वर्तमान अध्यक्ष धनीराम चौधरी, राजकुमार लेखी र वि श्राम महतोले अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । चौधरी कांग्रेस, लेखी एमाले निकट मानिन्छन् ।
थाकसका वर्तमान अध्यक्ष धनीराम टीकापुर घटनामा मुछिएपछि अर्धभूमिगत अवस्थामा छन् । चार वर्ष पदमा बस्दा ठोस काम गर्न नसकेको आरोप उनीमाथि लागेको छ।
अर्धभूमिगत अवस्थामा रहेका धनीरामका पक्षमा उनका समर्थकले मत मागिरहेका छन् । लेखीलाई थरुहट आन्दोलनको नेतृत्वकर्ताका रुपमा पनि लिइन्छ । उनलाई कम्युनिस्ट निकट थारुले मत दिने सम्भावना छ ।
यसैगरी मधेसवादी दल निकटका थारुहरूले लेखीलाई नै उम्मेदावर बनाउने तयारी गरेका छन् । महताले आफूलाई सहमतिको उम्मेदवार दाबी गर्दै अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन् ।