बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

ओली सरकार र फिस्टे चरा उस्तै हुन्ः प्रकाशमान सिंह

मंगलबार, असोज २ २०७५

काठमाडौं असोज, २–
नेपाली कांग्रेसका नेता  सिंहले वर्तमान वर्तमान ओली सरकारको कटु आलोचना गरेका छन् । नेता सिंहले प्रधानमन्त्री ओलीले काम भन्दा कुरा धेरै गर्ने गरेको आरोप समेत लगाए ।  सरकारलाई गिरोह र स्वार्थी समूहले चलाइरहेको टिप्पणी नेता सिंहको आरोप छ । मंगलबार काठमाडौंमा गणेशमान सिंहको २१ औं स्मृति दिवसको अवसरमा  बोल्दै नेता सिंहले सरकारले जनताको पक्षमा एउटा पनि राम्रो काम नगरेको जिकिर गरे । 

उनले भने, ‘आफ्नो गिरोहभित्रका केही सीमित व्यक्तिहरुको इन्ट्रेष्टमा मात्रै यो सरकारले काम गरिरहेको छ ।’
 जनतालाई राहत दिने काम सरकारले नगरेको भन्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले भने, ‘सुशासन र समृद्धिको कुरा उहाँले नारामा त धेरै गर्नुहुन्छ । तर जनताले त केही पाएका छैनन् । हिजो राति मात्रै दशैंको मुखमा इन्धनको मूल्य बढाइएको छ । जनतालाई केन्द्रविन्दुमा राखेर यो सरकारले काम गरेकै छैन ।’

स्वयम् प्रधानमन्त्री, सत्तारुढ दलका नेता तथा सांसदहरुका असन्तुष्टिले पनि यो सरकार कसरी सञ्चालन भइरहेको छ भन्ने कुरा स्पष्ट हुने उनले बताए । सरकारको आलोचना गर्नेहरुविरुद्ध अरिंगाल बनेर जाइलाग्न प्रधानमन्त्रीले निर्देशन दिएको प्रसंग जोड्दै नेता सिंहले भने, ‘हामीले त उहाँको केही टिप्पणीसमेत गर्न नहुने भइसक्यो । पत्रकारलाई हतकडी लगाएर लगिसकेको छ ।’

दुई तिहाइ बहुमत भए पनि वर्तमान सरकारले काम गर्नै नजानेको उनले दाबी गरे । उनले वर्तमान सरकारलाई फिस्टे चराको चालसँग तुलना गरे । ‘यो सरकारले राम्रो काम गरोस् भनेर हामीले सुरुमै शुभकामना दिएकै हो । अहिले पनि हाम्रो शुभकामना छ । तर के गर्ने फिस्टेको खुट्टैबाट चाल पाइन्छ भनेजस्तै यिनीहरुलाई म्यानेजै गर्न आउँदैन ।’

द्वन्द्वकालमा एक नेपालीले अर्को नेपालीलाई हत्या गरेको सुन्नुपरेजस्तै अहिले हत्या, आतंक र अपराधका घटना सुन्नु परिरहेको भन्दै नेता सिंहले सरकार शान्ति सुरक्षा कायम गर्न पनि असफल भएको आरोप लगाए ।

सरकारको गलत कार्यशैलीका कारण जनताले राहतभन्दा आहत बढी पाइरहेको भन्दै उनले नेपाली कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताए । कांग्रेसले आफ्नो क्षमताले भ्याएसम्म सदनदेखि सडकसम्म नियम कानुनभित्रै रहेर काम गरिरहेको उनको भनाइ छ ।
कार्यक्रममा पूर्वसभामुख दमनाथ ढुंगाना, राष्ट्रियसभामा विपक्षी दलका नेता सुरेन्द्र पाण्डे, कांग्रेस नेताहरु नविन्द्रराज जोशी, राजेन्द्र केसी, वद्रि पाण्डे, कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँ लगायतले गणेशमान सिंहको शालिकमा माल्यार्पण गरेका थिए ।