काठमाडौं भदौ, २८–
निर्मला पन्तका आमाबुबाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकै चित्त दुखाएका छन् । उनीहरुले शंकाको घेरामा रहेकी बम दिदीबहिनीको पक्षमाप्रधानमन्त्रीको अभिव्यक्ति आउनु नै आश्चर्य भएको बताएका छन् । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा निर्मलाका बाबु यज्ञराजले प्रहरीको साथ नपाएकोमा समेत गुनासो गरे । उनले भने, आफ्नी छोरीको साइकल भेटियो भन्नासाथ बबिताले ‘साइकल भेटियो भने शव पनि भेटिन्छ होला, भनेपछि हत्या भएको उसलाई कसरी थाहा भयो ?’ यज्ञराजको प्रश्न रहेको छ । ‘बम दिदीबहिनी शंकाको घेरामा रहेको तर, सरकारले उनीहरुलाई सपोर्ट गरेको उनको गुनासो छ । उनले गहभरी आँसु पार्दै भने, ‘यति प्रमाण हुँदाहुँदै सरकारले उल्टै बबितालाई सपोर्ट गर्दैछ । प्रधानमन्त्रीले तगडा बनाइदिएका छन् ।’
अघिल्लो बुधबार ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीलाई कञ्चनपुर घटनाबारे सोधिएको थियो ।
जवाफमा प्रधानमन्त्रीले समाजलाई विकृतितर्फ लैजाने संगठित प्रयास भइरहेको बताएका थिए । घटनाप्रति सरकारको ध्यानाकर्षण भएको र सरकारले एसपी, सीडीओलाई फिर्ता बोलाएर अर्को उच्चस्तरीय छानबिन समिति बनाएको बताए । ‘तर, छानबिनलाई यसो हुनुहुँदैन । यसो हुनुपर्छ, यसै निश्कर्ष आउनुपर्छ भनेपछि छानबिन कसरी हुन्छ ? यसभित्र कुनै राजनीति मिसाइनु हुँदैन’ उनले भने ।
राजनीति मिसिएको छ ? भन्ने प्रश्नमा उनले भने, ‘म यति भन्छु कि राजनीति मिसाइनु हुँदैन ।’
उनले अघि भने, ‘पोष्टमार्टम गरेर घरमा लगेको शव घरबाट उठाएर मेयरको घरमा पुर्याउनुपर्ने । यो के भएको ? परिवारले त शतगद गर्न पो लैजाँदै थियो । उनीहरुबाट खोसेर मेयरको आँगनमा लास लानु भनेको के हो ?’
उनले निर्मलाली साथी रोशनी बम र उनकी दिदी बबिता बमको हुर्मत लिने काम भएको भन्दै आपत्तिसमेत जनाए । यदि उनीहरु दोषी भए कारबाही गर्ने भन्दै ओलीले भने, ‘तर, कारबाही गर्नुभन्दा अगाडि केके भनिएको छ ? समाजले केके गरेको छ ? यस्तो गर्नुहुन्छ ?’
‘तिनीहरु दोषी हुन् कि होइनन् छानबिन गर्नुपर्छ । उनीहरु पनि अविवाहित महिला हुन्, तिनका पनि जीवन होला, तिनका पनि सपना होला । तिनको पनि इज्जत छ । यसो गर्थे, उस्तो गर्थे, झुट र अनुचित कुरा उचालेर हुर्मत लिने ? छिमेकी मन नपर्न सक्छ, कुनै पार्टीलाई भोट देलान् । यस्ता कुरा ल्याउनमिल्छ ?’
बम दिदीबहिनीमाथि क्रुर आक्रमण भएको प्रधानमन्त्री ओलीको दाबी थियो । घटनापछि प्रहरी प्रशासनले छानबिन गरिरहेको बेला आन्दोलन उठेको र हुलदंगा मच्चिएको र सरकारले अर्को छानबिन समिति बनाएपछि पनि यस्तो निश्कर्ष आउनुपर्छ भनेर काम गर्न नदिएको प्रधानमन्त्री ओलीको आरोप थियो । निर्मलाका बुबा यज्ञराजका अनुसार आन्दोलनका क्रममा निर्मलाको शव मेयरको आगनमा लगिएको थिएन । प्रधानमन्त्री स्वयंले झुटो बोलेकोमा निर्मलाका बाबुको दुखेसो छ ।
तर, बम दिदीबिहनीमाथि छानबिन हुनुपर्छ भन्ने माग मात्र आफूहरुको भएको निर्मलाका बाबु आमा बताउछन् । प्रधानमन्त्री स्वयंले ‘तिनीहरु अविवाहित छन्, उनीहरुको पनि इज्जत छ । समाज सभ्य हुनुपर्छ’ भनेको भन्दै निर्मलाका बाबु यज्ञराजले रुँदै भने, ‘दोषी यिनी हुन् भनेर हामीले कहिल्यै भनेका छैनौं । उनीहरु निर्दोष छन्, साइकल त्यहाँ भेटिएको छ भनेर प्रमाणहरु मेटाउने काम भयो ।’
गत साउन १० गते साथी रोशनी बम कहाँ गएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट विहान उखुबारीमा शव भेटिएको थियो ।
कञ्चनपुरबासीले आन्दोलन गरेपछि छानबिन समिति त बनेको छ तर, हत्यामा संलग्नहरुको अत्तोपत्तो छैन । हत्यामा संलग्नहरुलाई पक्राउ गरी कारबाहीको माग गर्दै पन्तका बाबु यज्ञराज र आमा दुर्गादेवी केही दिनदेखि काठमाडौंमा छन् ।