२५ भदौ, काठमाडौं–निर्मलाको बलात्कारपछि हत्या प्रकरणमा प्रहरीले पछिल्लोपटक बागफाँटानिवासी मानसिक सन्तुलन ठीक नरहेका ४१ वर्षे दिलीपलाई पक्राउ गरेको छ ।
स्वास्थ्य स्थिति जाँचका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल पु-याइएका उनलाई शुक्रबार महेन्द्रनगर ल्याई आइतबार जिल्ला अदालतबाट चार दिन म्याद थपेर हिरासतमै राखिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
अदालत स्रोतका अनुसार आइतबार जिल्ला अदालतमा खोलिएको दिलीपको सिलबन्द स्वास्थ्य परीक्षण प्रतिवेदनमा उनको मानसिक सन्तुलन ठीक छ वा छैन यकिन साथ भन्न नसकिने उल्लेख छ ।
तर, आइजिपीदेखि प्रदेशका आन्तरिक मामिलामन्त्रीसम्म भनिरहेका छन्, ‘वास्तविक अपराधी पक्राउ गरेरै छाड्छौँ, अन्तरिक्षमा भए पनि छाड्दैनौँ ।’ उता गोरखामा शनिबार आयोजित पत्रकार सम्मेलनमा केन्द्र सरकारका गृहमन्त्री रामबहादुर थापाले पनि छानबिन समितिले काम गरिरहेकाले छिटै हत्यारा पत्ता लाग्ने बताए ।
किनकि यसअघि पनि प्रहरीले यस घटनामा चारजना निर्दोषलाई पक्राउ गरी छाडिसकेको छ । यीमध्ये केहीलाई त गैरकानुनी हिरासतमा राखी चरम यातनासमेत दिएको छ । निर्मलाको शव फेला परेकै दिन ११ साउनमा प्रहरीले मानसिक सन्तुलन ठीक नभएका जीवन घर्तीमगर र एचआइभी संक्रमण तथा गम्भीर प्रकृतिको यौनरोग लागेका दीपक नेगीलाई पक्राउ गरेको थियो । त्यसको एक सातापछि १८ साउनमा १७ वर्षे किशोरीलाई गिरफ्तार गरी पाँच दिनसम्म गैरकानुनी दिवा हिरासतमा राखी यातना दिएको थियो । प्रमाण नपुगेपछि उनलाई छाडिएको थियो ।
२१ साउनमा घटनास्थलनजिकै घर भएका चक्रदेव बडूलाई निर्मला बलात्कार र हत्या अभियोगमा पक्राउ ग¥यो । चार दिनसम्म त आफन्तलाई समेत भेट्न दिएन । बलात्कार र हत्या अभियोगमा प्रमाण नपुगेपछि उनलाई ११ दिनपछि प्रहरीलाई गालीगलौज गरेको झुटो मुद्दा लगाएर पाँच हजार धरौटीमा छाड्यो । अपराधी पक्रन असमर्थ भएको भन्दै दिनहुँ प्रहरीविरुद्ध प्रदर्शन भइरहेको थियो । पछिल्लोपटक ३ भदौको साँझ ८ बजे दिलीपलाई पक्राउ गरी ४ गते पत्रकारमाझ सार्वजनिक ग-यो । यसबाहेक पनि प्रहरीले करिब सयजनालाई जिप्रका बोलाएर सोधपुछ गरिसकेको छ ।
‘बलात्कार र कर्तव्य ज्यान मुद्दामा जेलबाट छुटेका अपराधीको सूची तयार गरी निजहरूको खोजतलास तथा सोधपुछ गरिरहेकोमा अभियुक्त दिलीपसिंह विष्टसमेतको खोजी गर्दै जाँदा मिति ०७५ भदौ ३ गते अन्दाजी साँझको ८ बजेको समयमा उक्त घटनास्थलमा साइकल भेटिएको स्थानबाट करिब ५० मिटर पश्चिमतर्फ सडक किनारामा हातमा लाठी लिई उभिइरहेको अवस्थामा केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको सादा पोसाकमा खटिएका प्रहरीले फेला पारी नियन्त्रणमा लिइएको’ दिलीपको पक्राउसम्बन्धी प्रहरीको विवरणमा उल्लेख छ ।
यसबाहेक दिलीपलाई दोषी ठहर गर्ने प्रहरीसँग थप प्रमाण छैन । ‘अब डिएनए परीक्षण रिपोर्ट नै पर्खनुपर्ने हुन्छ । दिलीपबारे थप प्रमाण फेला परेका छैनन्,’ जिल्ला प्रहरी प्रमुख एसपी कुवेर कडायतले भने । दिलीपले अदालतमा दिएको प्रारम्भिक बयानमा आफूलाई प्रहरीले दुईवटा कुर्सीको बीचमा च्यापी बन्दुकको टुप्पोले घोचेर अपराध सकार्न लगाएको बताएका छन् । ‘मेरो कुनै गल्ती छैन, मैले कुनै अपराध गरेको छैन । प्रहरीले पक्रेर ल्याएपछि बन्दुकको टुप्पाले मेरो जीउमा घोचेर घटना सकार्न लगाएका हुन् । प्रहरीले मैले निर्मलालाई सडकबाट उठाएर पारि लगी सम्भोग गरेको र घाँटी थिचेर मारेको हो भनी कबोल गर भनिरहेका छन् । म निर्दोष छु,’ दिलीपले अदालतसमक्ष भनेका थिए ।