शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

३८ क्वीन्टल तस्करी प्रकरणः थप ८ मुख्य अभियुक्तविरुद्ध ‘रेडकर्नर नोटिस’, प्रहरी पनि फरार सूचीमा

मंगलबार, भाद्र १९ २०७५

काठमाडौं भदौ, १९–
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३८ सय केजी सुन तस्करी गर्ने गिरोहका थप ८ मुख्य अभियुक्तविरुद्ध ‘रेडकर्नर नोटिस’ जारी भएको छ ।

दुईविरुद्ध भने ‘डिफ्युजन नोटिस’ जारी भएको प्रहरीले जनाएको छ । यसअघि ३ अभियुक्तविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन ९इन्टरपोल०ले रेडकर्नर नोटिस जारी गरिसकेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

झापा गौरादह नगरपालिका–१८ का भोजराज भण्डारी, काठमाडौं महानगरपालिका–९ का चेतनाथ भण्डारी, सिरहा धनगढीमाई नगरपालिका–१२ का रोहित आचार्य, सोलुखुम्बु दूधकुण्ड गाउँपालिका–८ का टुकबहादुर मगरविरुद्ध रेड नोटिस जारी भएको हो । त्यस्तै, धरान उपमहानगर–२ का कृष्ण बस्नेत, झापा शिवसतासी नगरपालिका–६ का कृष्णगोपाल अग्रवाल, काभ्रे बेथानचोक गाउँपालिका–४ का हरिशरण खड्का र झापा मेचीनगर नगरपालिका–१३ का मोहम्मद उस्ताम मियाँविरुद्ध ‘रेड नोटिस’ जारी भएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापा क्षत्रीले बताए । उनीहरू सबै तस्करीमा संलग्न मुख्य व्यक्ति रहेको प्रहरीको दाबी छ ।

यसअघि धरान उपमहानगरपालिका–३ का मोहनकुमार अग्रवाल, इटहरी नगरपालिका–६ का बेनु श्रेष्ठ र उर्लाबारी नगरपालिका–७ का रमेश उप्रेतीविरुद्ध रेड नोटिस जारी भइसकेको छ । श्रेष्ठ र उप्रेती दुबईमा पक्राउ परिसकेका छन् । उनीहरूलाई संयुक्त अरब इमिरेट्स (युएई)को प्रहरीले पक्राउ गरी नेपालमा ‘डिपोर्ट’ गर्ने प्रक्रिया अघि बढाएको छ । त्यहाँको अदालतबाट डिपोर्टसम्बन्धी आदेश हुन बाँकी भएकाले उनीहरूलाई नेपाल ल्याउने प्रक्रिया लम्बिएको हो । दुबईमा पक्राउ परेका उप्रेती मुख्य नाइकेमध्ये एक चूडामणि उप्रेती ‘गोरे’का भाइ हुन् । उनले दुबईबाट नेपालमा सुन पठाउने र हुन्डीको कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै, फरार अभियुक्तद्वय प्रयास पराजुली र सन्दीप खड्काविरुद्ध ‘डिफ्युजन’ नोटिस जारी भएको छ । उनीहरूको हकमा अदालतले पक्राउ पुर्जी जारी नगरेकाले डिफ्युजन नोटिस जारी गरिएको प्रहरीले जनाएको छ । अदालतले पक्राउ पुर्जी जारी नगरेको व्यक्तिलाई इन्टरपोलले रेड नोटिस जारी गर्दैन । डिफ्युजन नोटिस मात्र जारी भएका व्यक्तिलाई सामान्यतया धेरै देशले पक्राउ गर्दैनन्, उनीहरूबारे सूचना मात्र सम्बन्धित देशलाई दिन्छन् ।
इन्टरपोलले नोटिस जारी गरेपछि गिरोहका मुख्य व्यक्तिहरूलाई पक्राउ गरी नेपाल ल्याउन सहज हुने प्रवक्ता क्षत्रीले बताए । रेड तथा डिफ्युजन नोटिस जारी भएका व्यक्तिहरू विश्वका १ सय ९२ देशको अध्यागमन तथा प्रहरीको ‘ब्ल्याकलिस्ट’मा पर्ने भएकाले एक देशबाट अर्को देशमा जान सक्दैनन् ।

सुन तस्करी मुद्दामा २ प्रहरी नै फरार सूचीमा छन् । प्रहरी जवान विष्णुबहादुर खड्का र हवल्दार अम्बरबहादुर थापामगरलाई उच्च अदालत विराटनगरले पुर्पक्षमा राख्न आदेश दिएको छ । उनीहरू जिल्ला अदालतको आदेशमा छुटेका थिए । जवान खड्का १५ हजार धरौटी तथा हवल्दार थापा साधारण तारेखमा छुटेका थिए । तर, उच्च अदालतले उनीहरूलाई पुर्पक्षमै राख्न आदेश दिएको छ । उनीहरूको हकमा अदालतको आदेश कार्यान्वयनको प्रक्रिया अगाडि बढेको मोरङका एसपी मनोजकुमार केसीले बताए ।

विशेष अनुसन्धान टोलीले तस्करीमा सहयोग गर्ने अवकाशप्राप्त डिआइजीलाई समेत पक्राउ ग¥यो, तर सुन भने पत्ता लगाउन सकेन । थाई एयरलाइन्सका लोडर सानु वनले विमानस्थलबाट मध्यबानेश्वरस्थित चूडामणि उप्रेती ‘गोरे’को कार्यालयमा बुझाउन ल्याएको सुन हराएको थियो । वनको विमानस्थलभित्रै हवाई इन्धनको ट्यांकरमा ठोक्किएर मृत्यु भयो । उनको मृत्यु भएकाले सुन पत्ता लगाउन नसकिएको अनुसन्धान टोलीमा काम गरेका एक प्रहरी अधिकारीले बताए । वनले एक समूहले आफूलाई नियन्त्रणमा लिएर सुन लुटेको बताएका थिए ।

सुन तस्करी र सुन तस्करीकै विवादमा उर्लाबारीका सनम शाक्यको हत्या मुद्दाका अभियुक्तको संख्या ७७ पुगिसकेको छ । जसमध्ये ४० पुर्पक्षका लागि जेलमा छन् भने ३४ फरार छन् । पक्राउ परेकामध्ये तीन अदालतको आदेशमा धरौटीमा छुटेका छन् । उनीहरूविरुद्ध संगठित अपराध, हत्या र अपहरण गरी तीनवटा मुद्दा चलेको छ । जेलमा रहेकामध्ये ७ जना प्रहरी अधिकारी छन् ।

गत २० वैशाखमा जिल्ला प्रहरी कार्यालय मोरङले २९ जनालाई पक्राउ गरेको थियो । ३४ जनालाई फरार अभियुक्त बनाएर ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । अनुसन्धान गर्ने क्रममा थप १४ को संलग्नता खुलेको हो । पछि प्रहरीले राम तिवारी, विनोद अधिकारी, मोतीराम श्रेष्ठ, रेवन्त आचार्य, मदन सिलवालविरुद्ध मुद्दा दायर गरेको थियो । जसमध्ये आचार्य, अधिकार र श्रेष्ठ धरौटीमा छुटे । त्यहीवेला सन्दीप खड्का फरार अभियुक्त बनाएर मुद्दा दायर गरिएको थियो । तेस्रो चरणमा विमल पोद्दार, प्रभात अग्रवाल, राजुकुमार दारुका, सैयद अकबर साह र इम्तियाज उद्दिनविरुद्ध पूरक अभियोगका रूपमा मुद्दा दायर गरिएकोमा पाँचैजना गत साता जेल चलान भएका छन् ।