बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नयाँ टोलीलाई अनुसन्धान गर्न गाह्रो छः पूर्व एआइजी डा. कृष्णकुमार तामाङ

सोमबार, भाद्र १८ २०७५

काठमाडौं भदौ–
सशस्त्र प्रहरीका अवकाशप्राप्त एआइजी डा. कृष्णकुमार तामाङलाई प्राप्त विभिन्न उपाधि मध्येको एक हो क्रिमिनोलोजीको स्नातकोत्तर । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि यतिबेला नयाँ अनुसन्धान टोलीलाई अपराधी पत्ता लगाउन मुस्किल भएको छ । आखिर किन त ? यो विषयमा एआइजी तामाङसँग कुराकानी गरेका छौं । सशस्त्र प्रहरीभन्दा अगाडि तामाङ नेपाल प्रहरीमा हुनुहुन्थ्यो । 
निर्मला पन्तको घटना सरसर्ती हेर्दा के पाउनु हुन्छ ? 
– यो घटना अहिले गहन विषय भएर नेपाली समाजमा आएको छ । यो घटनाक्रममा न्यायका निमित्त उठेको आवाजका क्रममा एक १४ वर्षका किशोरको पनि मृत्यु भएको छ ।  म आफै पनि सुदूरपश्चिममा डिआइजी भएर बसेको थिएँ । त्यहाँका जनता सरल छन् । सरल मानिसहरु नै आन्दोलनमा उत्रिए भने त्यसको केही सन्देश त अवस्य छ । 
बलात्कारपछिको हत्याको अनुसन्धान तपाईले गर्नु परेको भए कसरी गर्नु हुन्थ्यो ? 
– सर्वप्रथम त कञ्चनपुरको घटना सामान्य होइन । अब त अनुसन्धान गर्न पनि गाह्रो भइसकेको छ । यदि म त्यहाँको अनुसन्धानकर्मी भइदिएको भए मैले गर्नु पर्ने केही काम अवस्य फरक हुने थियो । मिडियामा देख्दा घटनास्थलमा सर्वसाधारण जनता पनि गएका छन् । प्रहरीलाई खबर पुगेपछि प्रहरीले घटनास्थलको सुरक्षा गर्नु पर्ने हुन्छ । पीडित र पीडकबीच सामान्यतः घम्साघम्सी भएको हुन्छ । त्यस्तो अवस्थामा पीडितको शरिरमा केही न केही प्रमाण रहेकै हुन्छ । त्यही कारण शवबाट नै धेरै प्रमाण संकलन हुन सक्छ । र त्यो प्रमाणलाई विधिविज्ञान प्रयोगशालामा लैजान आवश्यक हुन्छ । पहिलो काम नै घटनास्थलको सुरक्षा गर्नु पर्छ । कुनै टेव, तार, डोरी लगाएर घटनास्थलको सुरक्षा गर्नु पर्छ । कुनै वस्तु छुन, चलाउन दिनु हुँदैन । मिडियामा आएका तस्बीरहरु हेर्दा त्यस्तो गरिएको पाइएन । 
त्यसरी रोकेपछि विशेषज्ञ टोलीको पहुँच नभएसम्म घटनास्थलको सुरक्षा गर्नु पर्छ । विशेषज्ञ टोलीमा फिन्गर प्रिन्टको विशेषज्ञ, क्यामेराको विशेषज्ञ, कपाल, र्याल, थुक, वीर्य संकलन गर्ने विशेषज्ञ पनि हुन्छ । अर्को भनेको तालिमप्राप्त कुकुर पनि चाहिन्छ । कुकुरको प्रयोग भएको देखिएन । कुकुरको प्रयोग गरेको भए जनतालाई प्रहरीले अनुसन्धान राम्रो गरिरहेको महशुस हुने थियो । 
त्यो चरणपछि के गर्नु पथ्र्यो ? 
बलात्कृत र कर्तब्य ज्यान मुद्धा हो यो । यस्तो घटनामा मृतकको शरिरको जाँच गर्नु पर्छ । जुन अवस्थामा उनको शव भेटिएको त्यही अवस्थामा शरिरको जाँच गर्नु पर्छ । सामान्य तरिकाले मात्रै फोटो खिच्ने, चोटपटक अंगभंग भएको छ कि छैन भन्ने बुझ्नु पर्छ । शरिरमा कोरेको, चिथोरेको नीलडामहरु छ कि छैन त्यो पनि हेर्नु पर्छ । साथै मृतकको हातका नङ पनि काटेर परीक्षण गर्नु पर्छ । बलात्कार हुँदा पीडितले संघर्ष गरेको हुन्छ । प्रतिकार गरेको हुन्छ । त्यो बेलामा कोपरेको हुन सक्छ । त्यो बेला पीडकको छालाको मसिनो कोषिका नङमा गएको हुन्छ । जसबाट बलात्कारीविरुद्धको अकाट्य प्रमाणको रुपमा उपयोग हुन्छ । 
 पीडितको अरु भागबाट पनि प्रमाण संकलन गर्नु पर्छ । विशेषत यौनांगमा बढी प्रमाण हुन सक्छ । 
मानसिक सन्तुलन गुमाएका व्यक्तिलाई बलात्कारी भनेर प्रहरीले उभ्याएको छ । रोशनी र बबिताको विषय पनि जोडिएको छ । घटनामा रोशनी र बबिताको संलग्नता हुन सक्छ ? 
–संलग्नता हुन सक्छ । अनुसन्धानका क्रममा यो शंकालाई कायम राखेर अनुसन्धान गर्नु पर्छ । जो व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ । उसलाई जुन समय लाग्यो, तीन हप्ताको समय । प्रहरीले सन्तोषजनक काम गरेन भन्ने पनि कुरा छ । पीडितको शरिरमा के कस्ता प्रमाण थियो त्यो पनि बुझ्नु पर्छ  । बालिकाको घाँटी थिचेर ज्यान लिएको भन्ने छ । मृतकका हातका औलाको नमुना संकलन गरेर शंकास्पद सबैको शरिरको जाँच गर्नु पर्छ । तर अहिले लाश जलाई सकेको छ । 
रोशनी (१८) बबिता (२२) को पनि घटनामा संलग्नता छ भन्ने शंका स्थानीयले शंका गरेका छन् । त्यसमा अरु पनि हुन सक्छन् । दिदीबहिनी र एसपीका छोराहरुसँग सम्बन्ध थियो कि ? आपत्तिजनक अवस्थामा निर्मलाले देखिन् कि ? यो शंकाको घेरामा राखेर अनुसन्धान गर्नु पर्छ । 
नयाँ स्वादका लागि रोशनी र बबिताले निर्मलालाई बोलाएको पनि हुन सक्छ । उनीहरु यौन व्यापारमा संलग्न पनि हुन सक्छन् । उनीहरुको प्रेमी एसपीका छोरा र मेयरका भतिजा हुन पनि सक्छन् । 
दिदीबहिनीमाथि अनुसन्धान हुनुपर्छ भन्ने जनताको माग थियो । रोशनी र बिबिताको घरमा गएकै कारण उनको हत्या भएको हो । दुवै दिदीबहिनी अविवाहीत रहेछन् । उनीहरु कतै पेशवर पो थिए कि ? प्रत्यक्ष, अप्रत्यक्ष बुझेर व्यवहार थाहा पाउनु पर्छ । उनीहरु घरमा एक्लै बस्थे । निर्जनस्थानमा उनीहरुको घर छ । तरुनी उमेरका केटीहरु देखिन्छन् । अनि शंका उत्पन्न हुनु स्वाभाविक हो । 
अहिले त उनीहरुमाथि पनि बयान लिइसकेको छ प्रहरीले । एसपी र मेयरका छोरामाथि शंका छ । शरिरमा नीलडाम मृतकको मात्रै होइन, उनीहरुको पनि हुनसक्छ । प्रतिकारका क्रममा पीडकको शरिरमा चिथोरेको, कोपरेको हुन सक्छ । टोकेको पनि हुन सक्छ । रोशनी, बबिता, मेयरका भतिजा र एसपीका छोराको पनि शरिर जाँच गर्नु पर्छ । अरु शंकास्पदको पनि जाँच गर्नु पर्छ । 
निर्मलाको निजी जीवनबारे पनि जाँच गर्नु पर्छ  । उनको केटा साथी थिए कि ? शिक्षकहरुसँग कुनै सम्बन्ध थियो कि ? सामान्यतः बलात्कार भनेको ७० प्रतिशत भन्दा बढी बलात्कार चिनजानबाटै भएको हुन्छ । कसैले राजीखुसी यौनजन्य क्रियाकलाप गरेको हुन सक्छ । कुनै महिलाले कुनै पुरुषसँग सहमतिमा यस्तो काम गर्छ भने पुरुषको घनिष्ठ पुरुषका लागि पठाइदियो भने त्यो महिलाले कुनै पनि हालतमा स्वीकार गर्दैनन् । कि त पेशेवर नै हुनु पर्यो । प्रेममा मात्रै समर्पण गर्नेहरुले अरुसँग जाँदैनन् । त्यस्तो अवस्थामा महिला एक, पुरुष दुई भन्दा बढी हुन सक्छ । यो घटनामा पनि त्यस्तो भयो कि ? 
भिसेरा परीक्षणको कुरा पनि हुन गर्छ । भिसेरा के हो ? 
– जब शवको परीक्षण हुन्छ, त्यसलाई पोस्टमार्टम भन्ने गरिन्छ । भित्री कुराहरु खोतल्न भिसेरा परीक्षण गरिन्छ । मानिसको भित्री अंगको परीक्षण गर्ने विधि हो । कम्तिमा आधा गिदी, सिंगो मुटु, आधा कलेजो, आधा फोक्सो, एउटा मिर्गौला, आमसय, एक मिटर आन्द्रा र छाला चाहिन्छ । गिदीको परीक्षणले कुनै ग्यास पदार्थ सुघाएको छ कि भन्ने थाहा पाउन गिदी चाहिने हो । सिंगो मुटुमा रगत हुन्छ । रगतको परीक्षणका लागि । कलेजो पनि चाहिन्छ । यी सबै अंगको परीक्षणपछि उसको शरिरमा कुन कस्ता रसायन थिए भन्ने थाहा हुन्छ र कसरी हत्या गरियो, त्यो थाहा पाउन सकिन्छ । 
घटनास्थलमा कन्डोम भेटिएको छ भन्ने सुनिन्छ । के कन्डोम लगाएर बलात्कार हुन सक्छ ? 
कन्डोमको त कुरै छाडौं । समान शारिरीक अवस्था भएको सिंगो पुरुषले पनि एक महिलालाई बलात्कार गर्न सक्दैन । यो वैज्ञानिक अध्यननबाट प्राप्त भएको कुरा हो । त्यसमाथि बलात्कार गर्ने त्यो पनि कण्डम लगाएर सम्भव छैन । किनभने बलात्कारको बेला त्यति समय नै हुँदैन पुरुषसँग । 
तर यदि बलात्कारको बेला दुई वा दुई भन्दा बढी बलात्कारहरु छन् भने पीडितलाई समातेर राख्न सक्छन् । कण्डम लगाएर पनि बलात्कार हुन सक्छ । तर यो चाहिँ अनुसन्धान टोलीको ध्यान अन्यत्र मोड्नका लागि यस्तो गरिएको हुन सक्छ । बेहोस वा अचेत अवस्थामा पुर्याइएको हो भने मात्रै कण्डम प्रयोग हुन सक्छ । 
घटनास्थलमा शव कहाँबाट आयो, कहाँबाट ल्याएर फालियो सबै कुरा बुझ्नु पर्छ । निर्मलासँग सम्बन्धित सबैसँग बुझ्नु पर्छ । 
धेरैजसो प्रमाण नष्ट भइसकेको छ । अबको अनुसन्धानले अपराधी समाउन सक्ला ? 
– सम्भावना त हुन्छ । कहिलेकाही शव नै नभेटाउँदा पनि हत्यारालाई समाउन सकिन्छ । निर्मलाको त शव पनि भेटिएकै हो । प्रारम्भिक अनुसन्धान पनि भएको छ । केही प्रमाण नष्ट गरेको आशंका पनि छ । सुरुमा जति राम्रोसँग प्रमाण भेटिन्छ, त्यति प्रमाण अब भेटिदैन । अब अन्य विषयमा अनुसन्धान गरेपछि मात्रै अपराधी फेला पार्न सकिन्छ । अनुसन्धानमा जो खटिएको थियो, उसले प्रमाण नष्ट गर्यो वा कर्तव्य पालना गरेन भने त्यस्तालाई कडा कारबाही हुनु पर्छ । लिम्बन गर्ने भनेको कुनै कारबाही नै होइन । ६ महिनामा स्वतः बहाली हुन्छ । यदि यो घटनामा कुनै प्रहरीले लापरबाही गरेको देखियो भने त्यस्तालाई मुलुकी ऐन अनुसार कारबाही गर्नु पर्छ । कारबास हाल्नु पर्छ ।