बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

साढे दुई करोड रुपैयाँ खर्च गरेर सञ्चालन गरिएकाे द्रुत बस सेवा महिना दिनमै बन्द

बुधबार, कार्तिक १५ २०८०

काठमाडौं । साढे दुई करोड सरकारी रुपैयाँ खर्च गरेर सञ्चालनमा आएको द्रुत बस सेवा महिना दिनमै बन्द भएको छ ।

संविधान दिवसको अबसर पारेर असोज ३ मा भब्य तामझामसहित उद्घाटन गरिएको उक्त बस सेवा महिना दिनमै बन्द भएको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका थिए ।

द्रुत बस भनिए पनि सोही बस ट्राफिक जाममा पर्दा समयमै यात्रुलाई गन्तव्यमा पुग्न समस्या भएको थियो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले रत्नपार्कस्थित शान्तिवाटिकामा विशेष कार्यक्रम आयोजना गरी सेवा सुरु गरे पनि सडकसहितका पूर्वाधार व्यवस्थापनमा चासो नदिँदा बन्द हुने अवस्थामा पुगेको हो ।

सडक विभाग स्रोतका अनुसार द्रुत बसको रुटका लागि सडकमा रङ लगाउन, ट्राफिक संकेत राख्न र सडकको सामान्य सुधारमा मात्र साढे दुई करोड रुपैयाँ खर्च भएको छ । तर सडकमा लगाइएको रङ महिना दिन नपुग्दै मेटिन थालेको छ ।

रत्नपार्कबाट सूर्यविनायकसम्म १८.५ किलोमिटर छ । अत्यधिक ट्राफिक जाम हुने समय बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म २५ बस सञ्चालनमा ल्याइएको थियो । सडकमा रातो रङ लगाएका १९ ठाउँमा बस रोकेर यात्रु चढाउनेरओराल्ने व्यवस्था गरिएको थियो ।

द्रुत बस सेवामा आबद्ध व्यवसायीका अनुसार सडक पूर्वाधार र ट्राफिक व्यवस्थापन कमजोर भएका कारण बस सञ्चालन गर्न नसक्ने अवस्था आएको हो । यातायात व्यवसायी र सरकारबीच २५ वटा बस द्रुत सेवाअन्तर्गत सञ्चालन गर्ने उल्लेख छ । तर, सरकारले आवश्यक पूर्वाधार व्यवस्थापन नगरिदिएको व्यवसायीहरूको भनाइ छ ।