काठमाडौं भदौ, १२–
प्रहरी हवल्दार सीता तिवारी पक्राउ परेकी छिन् । महानगरीय प्रहरी त्रिभुवन विमानस्थल सुरक्षा गार्डमा कार्यरत तिवारीलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । नुवाकोट जिल्लाको बेलकोट–७ स्थायी घर भएकी तिवारी
पदीय मर्यादा विपरित ठगी गरेको उजुरी परेपछि पक्राउ परेकी हुन् । उनको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
लामो समयदेखि ‘म वकिल हुँ, न्यायाधीशलाई भनेर मुद्दा जिताउँछु’ भनेर ठगी गर्दै हिँड्ने उनका श्रीमान मनोहर तिवारीसँग मिलेर प्रहरी हवल्दार सीताले ‘म डिएसपी हुँ’ भन्दै ठगी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।
त्रिभुवन विमानस्थलमा कार्यरत सीताले आफ्ना श्रीमान मनोहरले अदालत परिसरमा भेटिएकालाई ‘मुद्दा मिलाउँछु’ भन्दै भ्रम सिर्जना गरेर ठगी गरेपछि पैसा माग्न बालाजुस्थित घरमा जाने पीडितहरुलाई प्रहरी नायव उपरीक्षक (डिएसपी)को बर्दी लगाएर धाकधम्की दिने गरेको उनीमाथि उजुरी परेको छ ।
‘हामीले धेरै पटक सीता तिवारीलाई डिएसपीको बर्दी लगाएको अवस्थामा घरमा भेटेका थियौं’ मनोहर र सीताबाट ठगिएका एक पीडितले भने, ‘पैसा माग्न जाँदा हामीलाई श्रीमान–श्रीमती नै मिलेर धम्क्याउँथे ।’
तिवारी दम्पतीले आफूहरुलाई ठगेको भन्दै काठमाडौं–२६ स्थित ‘सामूहिक व्यवसायिक बचत तथा ऋण सहकारी संस्था’का सञ्चालक, तारकेश्वर नगरपालिका–८ बस्ने देवी पाठक, विपिन सिम्खडा, चितवनका उद्धव सापकोटा, नक्सालका कुमार प्याकुरेल लगायतले जाहेरी दिएका थिए ।
पीडितहरुको जाहेरीपछि गएको साउन अन्तिम साता नै प्रहरीले मनोहर तिवारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।