काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न काण्ड चलाएको यो सरकारले देशको विकास गर्न नसक्ने बताएका छन्।
शनिबार भक्तपुरमा दिपेन्द्रराज गिरी स्पाइनल नेत्र प्रतिष्ठानको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले अहिले विभिन्न तस्करी काण्ड चलाएको भन्दै त्यसले देश विकास हुन नसक्ने बताए।
देशलाई सफल बनाउन नातागोता, परिवारवाद र व्यक्तिगत स्वार्थ त्याग गर्न सक्नुपर्ने उनको भनाइ थियो।
अध्यक्ष ओलीले देशको मूल्यमान्यतामा कसैका व्यक्तिगत स्वार्थ स्वीकार्य नहुने स्पष्ट पारे।
देशका लागि काम गर्दा आफू नेतृत्वको सरकारलाई जोडतोडका साथ परिवर्तन गरिएको उनले बताए।
अध्यक्ष ओलीले भने, ‘देशलाई सफल बनाउने हो भने यस्ता अहिले तस्करी काण्डहरु चलेका छन् नि । यस्ता काण्डहरु चलाउनु हुँदैन । म काण्डहरु चलेका छन् भनिराखेको छैन, चलाएका भनिराख्या छु । यस्ता काण्डहरु चलाउनु हुँदैन । यस्ता काण्ड चलाएर अनि देश विकास हुन्छ ? चिल आयो, चिल आयो भन्ने अनि कुखुरा यतातिर बोकेर कुँदने ? मैले अघि नै भनेको छु–सरकारको आलोचना खास गर्न चाहन्न । तर अवस्था नाजुक छ । धेरै नाजुक छ । र, धेरै नेपालीले यस नाजुक स्थितिबाट सोच्न पर्दछ । यसस्थितिमा परिवर्तन ल्याउनै पर्दछ । किन, देशको मूल्यमा कुनै व्यक्तिका स्वार्थ आदिइत्यादि छ भन्न सकिँदैन । सुन फल्छ भनेर यहाँ काठमाडौं आएको, यहाँत नुन पनि पाईदो रहेनछ भन्ने कसैले भनेका छन । सुन त यहाँ ब्रेक सुमा सुनैसुन । वेपमा सुनैसुन । सिग्रेट खान खोज्यो सुनैसुन । पानी चलाउने मोटर ल्यायो, सुनैसुन । जे छोयो, त्यो सुनैसुन । स्वर्ण युग आयो भन्दैछ सरकार । यति सुन आएको छ । फेरी स्वर्ण युग नआए कहिले आउँछ त ? भन्दैछ सरकार । नुन पनि पाइँदैन भन्दा सरकारको बिरोध गरेजस्तो हुँदैन । स्वर्ण युग नै आएको छ । उहिले हामी गोल्डेन टच भन्ने पढथ्यौं । त्यस्तै भएको छ । केरुङ भन्सारबाट आउने ट्रकहरुमा सुन बोकिन्छ । पहिलेपहिले रातो चन्दन उत्तर लगिन्थ्यो, अहिले उत्तरतिरबाट सुन ओरालो झारिन्छ । यो भईराखेको छ ।’
अध्यक्ष ओलीले आफू नेतृत्वको सरकार ढाल्दा मुलुक अहिलेको अवस्थामा आएको भन्दै आफूहरु पुनः जाग्ने र देशलाई सफल बनाएरै छाड्ने दाबी गरे।