काठमाडौं । आजबाट जि २० सम्मेलन भारतको दिल्लीमा शुरु भएको छ ।
जि २० सम्मेलनमा भाग लिन अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री ऋषि सुनक, अर्जेन्टिनाका राष्ट्रपतिसहित अन्य १७ देशका प्रमुखहरु कार्यक्रममा रहेका छन् ।
जि २० सम्मेलन ९ र १० सेप्टेम्बर गरी २ दिनसम्म सञ्चालन हुनेछ । आज सम्मेलनको पहिलो दिन २० देशका नेताहरु एउटै मञ्चमा छन् । २० देशका प्रमुखहरु एक ठाउँमा बसेर विश्वको बारेमा छलफल गर्नेछन् ।
जि २० मा १९ देश र एउटा युरोपीयन संघ आवद्ध छन् । अस्ट्रेलिया, अर्जेन्टिना, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इण्डोनेसिया, इटली, जपान, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अप्रिका, दक्षिण कोरिया, टर्की, युनाइटेड किंगडम, संयुक्त राज्य अमेरिका रहेका छन् ।
सो अवसरमा कार्यक्रम स्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जि २० देशका अन्य सदस्यहरुलाई स्वागत गरे ।
साथै उनले जि २० सम्मेलनमा मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे । त्यस्तै उनले कोरोना महामारीलाई समेत विश्वका सबै राष्ट्र मिलेर समाधान गरेको भन्दै अहिले विश्वमा देखिएका समस्याहरुलाई पनि सबै मिलेर समाधान गर्नुपर्ने बताए ।
दक्षिण एसियाको एक मात्र सदस्य भारतले गर्न लागेको दुईदिने सम्मेलन दक्षिण एसियाकै पहिलो हो । सम्मेलनको मूल विषय बसुदैव कुटुम्बकम् अर्थात् एक विश्व, एक परिवार र एक भविष्य राखिएको छ ।
नेपालको हकमा राजनीतिक अस्थिरता र दिल्लीको नजरमा नेताहरूप्रतिको अविश्वसनीयताको परिणाम नेपाल आमन्त्रित नभएको भनिएको छ।
नेपालले विश्वासको वातावरण बनाउनु जरुरी छ । अहिले भारत र नेपालको सम्बन्ध अपेक्षाकृत सौहार्द नभएको कारण यो सम्मेलनमा नेपाललाई आमन्त्रण नगरिएको भनाइ छ । तर अर्को छिमेकी राष्ट्र बंगलादेशलाई भने आमन्त्रण गरिएको छ ।