पोखरा साउन, २२–
कास्कीमा रहेको अन्नपूर्ण गाउँपालिकाले हेलिकोप्टर अवतरणमा निषेध गरेको छ । अन्नपूर्ण संरक्षित क्षेत्रका चराचुरुंगी र वन्यजन्तुलार्ड असर परेको भन्दै गाउँपालिकाले हेलिकोप्टर अवतरणमा रोक लगाएको हो । यद्यपि, गण्डकी प्रदेश सरकारले भने सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पूर्वाधार निर्माण गरिरहेको छ । त्यसका लागि एक गाउँ एक हेलिप्याड निर्माण सरकारको योजना छ ।
गाँउपालिका अध्यक्ष युवराज कुँवरका अनुसार उद्दारका लागि अरु बेला हेलिकोप्टर अवतरण गर्दा त्यसबाट आउने आवाज र भ्राइब्रेसनले वन्यजन्तु नै भागेका कारण गाउँपालिकाको चौथौ गाउँसभाले यस्तो निर्णय गरेको हो ।
पछिल्लो समय हेलिकोप्टरमार्फत अन्नपूर्ण, माछापुच्छ्रे क्षेत्रमा जाने तथा घुम्ने पर्यटक बढेका थिए । गाउँपालिकाको यो निर्णय भदौदेखि लागू हुनेछ । हेलिकोप्टर निषेधबारे हेलिसर्भिस कम्पनीहरुलाई जानकारी गराउने र अटेर गरे कारबाही गर्ने अध्यक्ष कुँवरको भनाइ छ ।