बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कम्पनीले निकलिदिएपछि साउदीमा ३६ नेपाली अलपत्र

सोमबार, साउन १४ २०७५

१४ साउन, काठमाडौं–कार्यरत कम्पनीले सडकमा निकालीदिएपछि साउदी अरबमा अलपत्र परेका ३६ नेपालीको अवस्था झन् नाजुक बन्दै गएको छ ।

सम्झौता अनुसारको काम र दाम नदिएको भन्दै ड्युटी नगएका कारण गत असार ३२ गते सडकमा निकालिएका नेपाली कामदारहरूको अवस्था झन्–झन् नाजुक बन्दै गएको हो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

सोनमार कन्ट्रक्टिङ ट्रेडिङ एण्ड एडभरटाइजिङ कम्पनीमा क्याट्रिङको कामका लागि भन्दै २०७४ फागुन १ गते साउदी अरब पुगेका ३८ मध्ये ३६ नेपाली हाल उद्धारको प्रतिक्षामा बसिरहेका छन् ।

असार ३२ गते ड्यूटी नगएकामा कम्पनीले झोला, कपडा लगायत बन्दोबस्तीका सामग्री सडकमै निकालिदिएको सुरक्षित आप्रवासन परियोजना सामीको दिक्तेलस्थित सूचना केन्द्रकी सहायक परामर्शकर्ता बुनादेवी बिश्वकर्माले बताइन् ।

एकरात सडकमै बिताएका नेपालीसहित भारत र पाकिस्तानका कामदारलाई बिना जानकारी साउन १ गते राति दमामको टुक्बा पूर्वी क्षेत्रमा पु-याइएको बताइएको छ । ३८ मध्ये दुई जनालाई भने छुटाएर कुबेतको बोर्डरमा लगिएको पीडितहरूले बताएका छन् ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज, गुरुङ तमोधी, मधेसी संस्था, नेपाल एनबिसी, एनआरएन साउदी अरब लगायतले खाना पकाएर खाने व्यवस्था मिलाइदिए पनि दिनचर्य अन्यौलपूर्ण बनेको अलपत्रमध्येका केशब खड्काले जानकारी दिए ।

क्याट्रिङको कामका लागि भन्दै उनीहरू जनही १ लाख २५ हजारदेखि १ लाख ५० हजार बुझाएर काठमाडौंको चावहिल मित्रपार्कस्थित इम्पावर ओभरसिज प्रालिबाट साउदी पुगेका थिए ।

हालसम्म उनीहरूले जनही ९ सय रियाल मात्र तलव पाएको बताएका छन् । क्याट्रिङ, सप्लाईको नाम गर्दै अन्तिममा क्लिनिङको काममा लगाएको खड्काको भनाई छ । काम र दाम नदिएपछि नेपालीले एक दिन ड्यूटी इन्कार गरेकामा कम्पनीले सडकमा निकालिदिएको जनाइएको छ ।

अलपत्र पर्नेमा खोटाङका १३, सोलुखुम्बुका नौं र भोजपुरको एक जना कामदार रहेका छन् । सिन्धुलीका तीन, मकवानपुरका दुई, सर्लाहीका दुई, म्याग्दीका एक र बाग्लुङका एक जना कामदार रहेको सुरक्षित आप्रवासन सूचना तथा परामर्श केन्द्र दिक्तेलका परामर्शकर्ता बिश्वकर्माले जानकारी दिइन् । अलपत्र पर्नेमा डडेलधुराका एक, कैलालीका एक, दैलेखका दुई र रामेछापका एक जना रहेको परामर्शकर्ता बिश्वकर्माले उल्लेख गरिन् ।

काम गरेवापतको तलव असार ३१ गतेसम्ममा दिने शर्त कार्यान्वयन नभएपछि एक दिन काम अस्वीकार गरेको खोटाङ जालपाका शेषन राईले बताए । अलपत्र युवाले उद्धारको अपील गरेका छन् ।