बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रचण्ड निवाससँगै रहेको ४२ रोपनी सरकारी जग्गा कसरी भयो हाउजिङ कम्पनीको ?

आइतबार, साउन १३ २०७५

१३ साउन, काठमाडौं–ललितपुर खुमलटारस्थित ४२ रोपनी सरकारी जग्गा निजी कम्पनीलाई भाडामा दिएपछि स्थानीयले विरोध गरेका छन्। रेडियो नेपालको स्वामित्वमा रहेको उक्त जग्गा निजी कम्पनीलाई हाउजिङ निर्माणका लागि भाडामा दिएको विरोधमा स्थानीय आन्दोलित भएका हुन्। उक्त जग्गामा प्राकृतिक विपत्तिका बेला स्थानीयले आश्रय लिँदै आएका छन् । नागरिक दैनिकले समाचार छापेको छ ।

एक वर्षअघि सूचना तथा सञ्चार मन्त्रालय र रेडियो नेपाल सञ्चालक समितिले उक्त जग्गा भाडामा दिने निर्णय गरेका थिए। त्यतिबेला निजी क्षेत्रलाई व्यापारिक प्रयोजनका लागि जग्गा भाडामा नदिने सम्झौता भएको थियो। तर, सम्झौता उल्टाउँदै निजी क्षेत्रलाई जग्गा दिएपछि स्थानीयवासी आक्रोशित भएका हुन् । स्थानीयको विरोधपछि कुनै पनि संरचना बनेका छैन।

२०७४ जेठ २९ गते सञ्चार मन्त्रालय र रेडियो नेपालले उक्त जग्गा ३० वर्षका लागि भाडामा दिने निर्णय भएको थियो। त्यसपछि उक्त जग्गा कुवेर ज्ञान हाउजिङ र लक्ष्मी हुन्डाई कम्पनीलाई भवन बनाउन दिइएको थियो। माथिल्लो निकायले एकलौटी निर्णय गरी निजी कम्पनीलाई व्यावसायिक प्रयोजनका लागि खाली जग्गा भाडामा दिएपछि ललितपुर महानगरपालिका १५ का टोलबासीले विरोध गरेका हुन्। यसै क्रममा शनिबार आयोजित विरोध कार्यक्रममा उनीहरूले निर्णयलाई जसरी पनि रोक्ने बताए।

‘सरकारले गलत निर्णय गरेको छ, कि त आफैंले प्रयोग गरेको भए हुन्थ्यो, नत्र निजी कम्पनीलाई दिन हुँदैन,’ रेडियो नेपाल खुला चउर संघर्ष समितिका संयोजक सुवास राईले भने, ‘निर्णय भएपछि कम्पनीले संरचना बनाउन खोज्दै थियो हामीले रोक्यौंं।’ उनका अनुसार ०७२ को भूकम्पमा उक्त जग्गामा शिविर खडा गरी स्थानीयले आश्रय लिएका थिए। रेडियो नेपाल ट्रान्समिटिङ स्टेसनको मूल बाटो उत्तरतर्फ रहेको उक्त ४२ रोपनी जग्गा खुमलटार क्षेत्रका २९ टोलको बीचमा पर्छ।