काठमाडौं साउन, ११–
काठमाडौंबाट पोखरा जाँदै गरेको यात्रुवहाक बस त्रिशूलीमा खस्दा ५ जनाको ज्यान गएको छ । ना६ख २५०६ नम्बरको बस नदी किनारमा खस्दा अन्य २३ यात्रु घाइते भएका छन् ।
शुक्रवार मध्यान्ह १२ बजे खानीखोलाबाट धोएर सकडमा निकाल्दै गरेको ना५ख ७४०९ नम्बरको ट्रकसँग इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा ठोक्किएपछि बस करिब सय मिटर तल त्रिशुली नदी किनारमा खसेको थियो ।
प्रहरीका अनुसार मृत्यु हुनेमा तीन जना पुरुष र दुई महिला रहेका छन् । एक बालकको अवस्था गम्भीर रहेको बताईएको छ ।
घाइते २३ जनालाई उद्दार गरी चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज, भरतपुर मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचारका लागि पठाइएको चितवन प्रहरीले जनाएको छ । घाइतेहरु सवैको उद्दार भइसकेको पनि प्रहरीले बताएको छ ।