११ साउन, काठमाडौं–संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका दीपकराज जोशीमाथिको संसदीय सुनुवाइ सकिएको छ ।
सिंहदरबारस्थित संसद् सचिवालयमा बिहीबार सुनुवाइ समितिमा उपस्थित भएर जोशीले सांसदहरूले दुई घन्टासम्म गरेको प्रश्न र उनीविरुद्ध परेका उजुरीसम्बन्धी जिज्ञासाबारे १२ मिनेटभित्र जवाफ दिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने भन्ने टुंगो लगाउन शुक्रबार संसद्को सुनुवाइ समितिको बैठक पुनः बस्दै छ । बिहीबारको सुनुवाइको प्रारम्भमै प्रधानन्यायाधीशका लागि सिफारिस गरिएका जोशीले सुनुवाइ समितिमा १४ पृष्ठ लामो ४४ बुँदे कार्ययोजना प्रस्तुत गरेका थिए ।
आफ्नो कार्यकालमा गर्ने न्यायिक सुधारको कार्ययोजना पेस गरेका जोशीमाथि सांसदहरूले उनीविरुद्ध परेका पाँचवटा उजुरीसहित अन्य विषयमा दर्जनौँ प्रश्न गरे ।
संसदीय सुनुवाइ समितिमा उपस्थित भएका प्रस्तावित प्रधानन्यायाधीश जोशीले समितिका सदस्यलाई बारम्बार ‘साथीहरू’ भनेर सम्बोधन गरे ।
न्यायालय सुधारका कार्ययोजना प्रस्तुत गर्दादेखि सांसदले सोधेका प्रश्नको जवाफ दिने क्रममा समेत उनले साथीहरू भनेर सम्बोधन गरिरहँदा सांसदहरूले खासखुस गरिरहेका थिए ।
सोही क्रममा नेकपाका पार्वत गुरुङले आफूले प्रयोग गरेका शब्द संशोधन गर्न जोशीलाई सुझाब दिए । उनले भने, ‘साथीहरू भनेर कसलाई सम्बोधन गर्न खोज्नुभएको हो रु हामी माननीय सांसद हौँ । माननीय भनेर सम्बोधन गरियोस् । यो कुनै दम्भ–आडम्बरले भनेको होइन, पदको सम्मान गरौँ ।’
लगत्तै, सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित प्रधानन्यायाधीश जोशीले बोल्दा प्रयोग गरेको ‘साथीहरू’ शब्द रेकर्डबाट हटाउन कर्मचारीलाई निर्देशन दिए ।
जवाफमा जोशीले आफू पनि माननीय भएको बताए । उनले भने, ‘म पनि माननीय नै भएकाले साथीहरू भन्ने आँट गरेँ । नत्र आँट आउँदैनथ्यो । अन्यथा भएको भए क्षमा चाहन्छु ।’