४ साउन, काठमाडौं- जिल्ला अदालत काठमाडौंले आर्थिक वर्ष ०७४/०७५ को असार मसान्तसम्म ५ अर्ब ८६ करोड ४७ लाख ८ हजार ९२ रुपैयाँ जरिवानाबापत उठ्न बाँकी रहेको जनाएको छ ।
आर्थिक वर्ष ०७३/०७४ बाट सरेर आएको जरिवनासहित जम्मा ६ अर्ब ८८ करोड ४० लाख ८६ हजार ६ सय ७७ रुपैयाँमध्ये ९७ करोड ९३ लाख ८५ हजार ७ सय ८५ रुपैयाँ जरिवाना फस्र्योट भएको अदालतले जनाएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार कृष्णप्रसाद नेपालका अनुसार सो जरिवाना रकम विशेष अदालत, वैदेशिक न्यायाधीकरणसहितको हो ।
अदालतले कैदतर्फ जम्मा १२ हजार ८ सय ९० वर्ष १२ महिना २८ दिन सजाय तोकिएकामा ४ हजार ११ वर्ष ३ महिना २३ दिन कैद सजाय फस्र्योट भएको तथ्यांक छ । ८ हजार ८ सय ७९ वर्ष ९ महिना ५ दिन कैद सजाय भुक्तान हुन बाँकी छ ।