काठमाडौं असार २८–
गुण्डा नाइके दावा लामाका सहयोगी सत्यमान लामा पक्राउ परेका छन् । लामालाई महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले विहिबार काठमाडौंबाट पक्राउ गरेको हो ।
पक्राउ परेका सत्यमानले नेपाल प्रहरीको ‘क’ बर्गको सूचीमा रहेका दावा लामाको ‘मुन्सी’को रुपमा काम गर्दै आएको प्रहरीको भनाई छ । लामाबारे लुटपाट, गुण्डागर्दी तथा अवैध डलर कारोबारबारे उजुरी परेको महानगरीय प्रहरी परिसरले जनाएको छ ।
पछिल्लो समय प्रहरीले आफूलाई उच्च निगरानीमा राखेको सूचना पाएसँगै दावा लामाले काठमाडौं छाडेका छन् । दावा काठमाडौं छाडेर भारतको सिक्कीममा लुकेर बस्न थालेपछि उनको कारोबार सत्यमानले सम्हाल्दै आएको बताइएको छ ।
काभ्रे र रामेछापमा पाइने बुद्धचित्त मालाको तस्करीमा संलग्न सत्यमानमाथि गतबर्ष काभ्रेको सिपालीका किसानको माला लुटपाट गरेको आरोप लागेको थियो । यसअघि रक्तचन्दन तस्करीमा प्रहरीले उनलाई पक्राउ समेत गरेको थियो ।
त्यस्तै, सत्यमानविरुद्ध बुढानिलकण्ठका दिलीप लामाको २५ लाखको चेक धाकधम्की दिएर लुटपाट गरेको समेत काठमाडौं प्रहरीमा उजुरी छ । प्रहरीले पक्राउ परेका लामा गुण्डागर्दीमा सक्रिय रहेको खुलेपछि पक्राउ गरेको जनाएको छ ।