शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

एमसीसी पारितको चरणमा रहेका बेला नेपाल आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज फेरि आउँदै

शुक्रबार, असार २९ २०८०

काठमाडौं । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै छन्।

लु यसअघि नेपालमा एमसिसी प्रतिनिधिसभाबाट पारित गर्न हुने वा नहुने भन्ने चर्को बहस भएका बेला काठमाडौं आएर आएका थिए । त्यो बेला उनले नेपाल सरकारका उच्च सरकारी प्रतिनिधिहरूसँग भेटघाट समेत गरेका थिए ।

काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार सूचना जारी गर्दै सहायक विदेशमन्त्री लु एकदिने भ्रमणका लागि आज काठमाडौं आउन लागेको जानकारी दिएको हो । उनी कुन समयमा आउने भन्नेबारेमा भने दूतावासले खुलाएको छैन । लु अहिले दक्षिण एसियाको भ्रमणमा छन् । नेपाल भ्रमणका क्रममा लु ले नेपालका राजनीतिक दलका नेताहरू र दूतावासका कर्मचारीलाई भेट गर्ने बताइएको हो ।

दूतावासले फेसबुकमा लेखेको छ, ‘लु यस क्षेत्रको भ्रमणको क्रममा नेपाल फेरि आउन उत्सुक हुनुहुन्छ,’ सहायक विदेशमन्त्री लुले एकदिने नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भइसकेको छ ।

दूतावास स्रोतका अनुसार उक्त भेटवार्ताको क्रममा लुले नेपालमा ऊर्जा र पूर्वाधार विकासमा अमेरिकी ५०० मिलियन डलर अनुदानको कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को कार्यान्वयनको अवस्था, दुई मुलुकबीचको सम्बन्धलगायत विषयमा कुराकानी गर्नेछन् ।

यसअघि लुले २०७९ साउन १२ र १३ मा दुईदिने नेपाल भ्रमण तथा त्यसअघि २०७८ मंसिर १ देखि ४ सम्म चार दिने भ्रमण गरेका थिए।

भारत, बङ्गलादेश र श्रीलंकाको भ्रमणमा सम्पन्न गरेर नेपाल आउन लागेका सहायक विदेशमन्त्री लुले अन्य राजनीतिक दलका प्रतिनिधिसँग पनि भेटघाट गर्ने जनाईएको छ ।