शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

अवरुद्ध नारायणगढ–मुग्लिन सडक नौं घण्टापछि दुईतर्फी सञ्चालनमा

आइतबार, असार २४ २०८०

काठमाडौँ – पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ। नौ घण्टापछि आज बिहानदेखि सडकखण्ड सञ्चालनमा आएको हो।

चितवनको इच्छाकामना गाउँपालिका- ६ कालीखोलामा शनिबार अपराह्न ४ बजे सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो। तीन एक्साभेटर र जेसिभी प्रयोग गरेर पहिरो पन्छाइएको थियो।

अहिले रोकिएका सवारीसाधन र यात्रु गन्तव्यतर्फ लागेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए।

उनले इच्छाकामना गाउँपालिका- ५ स्थित तीन नम्बर पुलमा पहिरो खसेपछि सवारीसाधनलाई एकतर्फि गरिएको पनि बताए। उनले मौसम र सडकको अवस्था बुझेर मात्र यस सडकखण्डको यात्रा गर्न अनुरोध गरे।

यस सडकखण्डमा असार महिना लागेपछि पटक-पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ। यस सडक हुँदै दैनिक हजारौँ सवारीसाधन आउजाउ गर्ने गर्दछन्।

पटक-पटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौँ र पोखरा ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन्।