काठमाडौं असार, २४–
गंगामायाका छोरा कृष्ण प्रसाद अधिकारीको हत्याका अभियुक्त छविलाल पौडेल सर्वोच्च अदालतमा हाजिर भएका छन् । उनी सर्वोच्चमा हाजिर भए लगत्तै डिल्लीबजार कारागार चलान गरिएको छ ।
कृष्णप्रसाद अधिकारीको हत्याको आरोपि अधिकारीलाई चितवन जिल्ला अदालतले ४ वैशाख २०७१ धरौटीमा छाडेको थियो । तर, पुनरावेदन अदालतले त्यसलाई सदर गर्यो तर, सर्वोच्चले उक्त आदेशलाई बदर गरेको थियो ।
सर्वोच्चले ६ पुस २०७२ मा पुर्पक्षका लागि थुनामा राखेर कानुन बमोजिम गर्न आदेश दिएको थियो ।
लामो समयसम्म सर्वोच्चको फैसला कार्यान्वयन नभएपछि मृतक कृष्णप्रसादकी आमा गंगामाया अधिकारी १५ जेठदेखि वीर अस्पतालमा आमरण अनशन बसेकी छन् । यसअघि अनशनकै क्रममा उनका श्रीमान नन्दप्रसादको निधन भएको थियो ।
गंगामायाको स्वास्थ्य अवस्था कमजोर भएको भन्दै अधिकारकर्मीहरुले माग पूरा गर्न सरकारलाई दबाब दिँदै आएका थिए । त्यही क्रममा पौडेलले अदालतसामु आत्मसमर्पण गरेका हुन् ।
६८ वर्षका पौडेल आइतबार आफैं सर्वोच्च अदालतमा उपस्थित भएर थुनामा बसेर मुद्दा पुर्पक्ष गर्न पाउँ भनेर निवेदन दिएका छन् ।